बिमा दाबी गर्न बन्दकर्ताका नाममा चालकले नै टिपर जलाएको खुलासा

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १२ : १२
बिमा दाबी गर्न बन्दकर्ताका नाममा चालकले नै टिपर जलाएको खुलासा

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलले आह्वान गरेको बन्दको मौकाछोपी चालक र सहचालक आफैंले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाइएको प्रहरीले जनाएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस