दिपकराजले भावुक शब्द कोर्दै दिपाश्रीलाई यसरी दिए शुभकामना...

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १० : ३५
दिपकराजले भावुक शब्द कोर्दै दिपाश्रीलाई यसरी दिए शुभकामना...

काठमाडौं । कलाकार दिपाश्री निरौला आज आफ्नो जन्मदिन मनाउँदैछिन् । बिहानैदेखि सामाजिक सञ्जालमा उनलाई शुभकामना दिनेहरूको लर्को छ । कलाकार दिपकराज गिरीले पनि उनलाई भावुक ढंगले शुभकामना दिएका छन् । 

दिपक–दिपा नेपाली सिने क्षेत्रको बहुचर्चित जोडी हो । बेला बेला उनीहरूको सम्बन्धबारे अनेकन टिप्पणीहरू हुने गर्छन् । तर यी गसिपहरूबाट माथि उठ्दै आफूलाई सधैँ साथ दिएर अगाडि बढ्न प्रोत्साहन गरिरहने दिपाको जन्मदिनमा ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्ने दिपकले उल्लेख गरेका छन् । 

समाजका तीता प्रश्नहरूको पीडालाई झेलेर दिपाले आफूलाई लगातार साथ दिएको उनले बताएका छन् । 'आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ, ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ', दिपकले लेखेका छन् । 

उनले आफ्नो हातमा रहेका हरेक उपलब्धिहरूमा दिपाको नाम कुँदिएको पनि बताएका छन् । 'हेर्दा हेर्दै ३० वर्ष  पनि बितेछ । तिमी धनियाँ बनेर आएकी थियौ र त रामबिलास घर–घरमा चर्चित बन्न पुगेको थियो  । टेलिभिजनको सानो पर्दा हुँदै सिनेमासम्मको कठिन यात्रामा तिमी थियौ । म जस्तो अव्यवहारिक मानिसलाई जीवन सिकाउने तिमी थियौ ।आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुसी हुने मान्छे पनि तिमि थियौ', शुभकामना सन्देशमा दिपकले लेखेका छन् । 

उनले अन्त्यमा लेखेका छन्, 'आफ्नो आँखामा आँसुको भारी बोकेर अरुको आँसु पुस्ने यस्तो अनमोल साथीलाई जन्मदिनको लाखौँ शुभकामना !!!' 

प्रतिक्रिया दिनुहोस