चुनावका बेला सामाजिक सञ्जालको प्रयोगमा बन्देज लगाउने प्रस्तावप्रति असहमति: जीवन परियार

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १५ : २४
चुनावका बेला सामाजिक सञ्जालको प्रयोगमा बन्देज लगाउने प्रस्तावप्रति असहमति: जीवन परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले चुनावका बेला सामाजिक सञ्जालको प्रयोगमा बन्देज लगाउने प्रस्तावप्रति असहमति जनाएका छन्।उनले आयोगले प्रस्ताव गरेको १५ दिनको प्रचार समयमा पनि असहमति जनाएका छन्। उनका अनुसार चुनाव प्रचारका लागि १५ अपुग हुन्छ। 

आयोगले आउँदो मंसिर ४ गतेका लागि तय गरेको निर्वाचनका लागि प्रस्ताव गरेको आचारसंहिताबारे सोमबार गरेको छलफलमा उनले यस्तो असहमति जनाएका हुन्।सहमहामन्त्री परियारले कांग्रेसले आचारसंहितालाई पूर्ण रुपमा पालना गर्ने तर, आचारसंहिताका नाममा धेरै कडाइ पनि आवश्यक नहुने तर्क गरे। 

उनले सामाजिक सञ्जालको प्रयोगलाई बन्देज नगर्न र  मौन अवधि सुरुभन्दा १५ दिन अगाडि मात्र निर्वाचनको प्रचार गर्ने व्यवस्था नगर्न भने। नेपाल भौगोलिक रुपमा विकट भएकाले १५ दिनको अवधि कम हुने उनको दाबी छ। 

स्थानीय तहका प्रमुख वा उपप्रमुख र मन्त्रीहरु आफ्नो उम्मेदवार भएको क्षेत्रमा भन्दा अन्यत्र जान नपाउने प्रस्तावमा पनि सहमत हुन नसकिने उनले बताए। उम्मेदवार भएको व्यक्ति अर्को निर्वाचन क्षेत्रमा पनि जाने जिम्मेवारी पार्टीले दिन सक्ने भएकाले यस्तो व्यवस्था राख्न नहुने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस