मनोज राईको हत्यामा सं‌लग्न तीन जना समातिए

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १५ : ०१
मनोज राईको हत्यामा सं‌लग्न तीन जना समातिए

काठमाडौं  नेपाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ । बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–६स्थित महाँकाल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा संलग्न तीन जनालाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको जानकारी दिए । शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले संलग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुका सम्बन्धमा बौद्ध प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस