देशले प्रजातान्त्रिक समाजवादका एक प्रखर चिन्तक गुमायो : गृहमन्त्री खाण

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १४ : ५०
देशले प्रजातान्त्रिक समाजवादका एक प्रखर चिन्तक गुमायो : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले गिरी नेपाली राष्ट्रियताको सम्वर्द्वन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहनु भएको बताएका छन् । आइतबार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका मन्त्री खाणले नेपाली कांग्रेसलाई गिरीले समावेशी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताए ।

उनको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाणको भनाइ छ । उनले भने, ‘नेपालको राजनीतिमा उहाँको प्रतिवद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो । प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रुपमा हुनुहुन्थ्यो उहाँ । उहाँको राजनीति दार्शनिक ढंगको थियो । राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको सम्वर्द्वन र जनताको जनाधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगीभर लागिरहनुभयो ।

नेपाली कांग्रेसको प्रभावशाली नेता हो । आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो । नेपाली कांग्रेसलाई समावेशीकरण गर्न, सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृतिलाई समान रुपमा महत्व दिनुपर्छ र स्थान दिनुपर्छ भन्नेमा उहाँको सुरुदेखि नै जोड थियो र नेपाली कांग्रेसले त्यसलाई अंगिकार पनि गरेको छ । मुलुकले पनि अंगिकार गरेको छ ।’

प्रतिक्रिया दिनुहोस