चिनियाँ भूमिमा आक्रमण गर्ने क्षेप्यास्त्रको खोजीमा जापान

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ११ : ५८
चिनियाँ भूमिमा आक्रमण गर्ने क्षेप्यास्त्रको खोजीमा जापान

काठमाडौं  जापान सरकारले आफूसँग रहेको जमीनबाट जहाजमा मार हान्ने टाइप १२ क्षेप्यास्त्रको दायरा कम्तीमा एक हजार किलोमिटर बढाउन चाहेको एक जापानी पत्रिकाले आइतवार खबर दिएको छ । 

उक्त क्षेप्यास्त्रलाई परिवर्तन गरेर जहाज तथा विमानबाट त्यसलाई प्रक्षेपण गर्ने र जमीनमा रहेका तारोमा प्रहार गराउने योजना पनि जापानले बनाएको छ । चीनसँग रहेको क्षेप्यास्त्र क्षमता अन्तरलाई यसरी जापानले कम गर्न खोजेको बताइएको छ । लामो दूरीको क्षेप्यास्त्र पाएमा जापानी टापुसमूहबाछ चिनियाँ मुख्यभूमिमा प्रहार गर्ने जापानको योजना हो । 

योमिउरी पत्रिकाका अनुसार, जमीनबाट मार हान्ने क्षेप्यास्त्र सन् २०२४ सम्ममा सेनामा राखिनेछ । टोक्योले यस्ता किसिममा थप एक हजार क्षेप्यास्त्रहरू नानसेई टापुसमूहमा राख्न खोजेको छ । ताइवान संकटका लागि ध्यानमा राख्दै जापानले यो कदम चाल्न खोजेको पत्रिका लेख्छ । गत डिसेम्बर महिनामा जापानी सेना सेल्फ डिफेन्स फोर्सेस र अमेरिकी सेनाबीच नानसेई टापुसमूहमा सैन्य आधारइलाका बनाउने सहमति भएको थियो । ताइवान र बेइजिङबीच युद्ध शुरू भएमा त्यस नयाँ आधारइलाकाको उपयोग गरिनेछ । 

आवश्यक परेको खण्डमा नानसेई टापुसमूहमा अमेरिकाका मरिन सैनिकहरू तैनाथ हुनेछन् । ताइवानमाथि सैन्य आक्रमण भएमा जापानी सेनाले आफ्ना सैनिकहरू अमेरिकी सेनालाई सघाउनका लागि राख्नेछ । नानसेई टापुसमूहमा लगभग २०० वटा साना टापु छन् । तीमध्ये केहीमा मानव बस्ती छैन । 

प्रतिक्रिया दिनुहोस