पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १३ : १८
पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगरप्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ। अभियानमा सडक अतिक्रमण गरेर औपचारिक सञ्चालन भएको व्यवसायले  पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ। 

नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार अहिले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यस प्रकारको अभियान थालेको छ। उनले भने, ‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ, यसप्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन। त्यसैले अनौपचारिक व्यापारलाई औपचारिक बनाउनुस्। महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो।’ 

जसका लागि अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयंसेवक परिचालन गर्ने गरिएको छ। फुटपाथमा गरिने व्यापार सामाजिक समस्या भएकाले समाधानका लागि थालिएको सामूहिक प्रयासबाट अनधिकृत व्यापारमा कमी आएको उनको भनाइ छ।

‘हामी पार्किङ प्रयोजनका लागि निर्माण गरिएका तर अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान गर्दै छौँ। यसबाट पार्किङ समस्या समाधान हुनेछ’‚ उनले भने। नयाँ बानेश्वर चोकदेखि शंखमुल,पुरानो बानेश्वर, मीन भवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको महानगरले जनाएको छ।

यस अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घर धनी, स्थानीय व्यापार व्यवसायी संघ, स्कुले विद्यार्थी, स्थानीय संघ संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयम्सेवाका, सामाजिक अभियन्ता जस्ता सरोकारवालालाई सहभागी गराइएको छ।  

अभियानमा बल प्रयोग गरिँदैन। समुदायको सहभागितामा सचेतना कार्यक्रमसँगै सडक पेटी अतिक्रमण नियन्त्रण, सहरी सुव्यवस्था सम्बन्धी काम, सरसफाइ, ट्राफिक नियन्त्रणजस्ता कामलाई सँगसँगै गरिन्छ। यस्तै दृश्य प्रदूषण नियन्त्रण, पार्किङ स्थलको व्यवस्थापन, साइकल तथा गाडा नियन्त्रण, पसल केवल बाहिर र सेडब्याकमा रहेको पसलको व्यवस्थापन, सडक पेटी मर्मत, बार र ट्रिगार्डको व्यवस्थापन, रूखको ट्रिमिङ, अव्यवस्थित तार व्यवस्थापनका काम हुने गरेका छन्। 

प्रतिक्रिया दिनुहोस