लोसपालाई गठबन्धनमा सहभागी गराई सरकारमा ल्याउनु पर्छ : नेता निधि

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १२ : ३५
लोसपालाई गठबन्धनमा सहभागी गराई सरकारमा ल्याउनु पर्छ : नेता निधि

काठमाडौं  नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने बताएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको अयोध्याका लागि धार्मिक यात्रामा गएका १०२ जना धार्मिक यात्रीलाई जानकी मन्दिरको प्राङ्गणबाट बिदाइ गर्दै नेता निधिले यस्तो बताएका हुन् । 

नेता निधिले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरू एकजुट भई मिलेर जानुको विकल्प नरहेकोसमेत बताए । उनले निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा छलफल गरेका छन् । मैले पनि आगामी निर्वाचनमा सँगै मिलेर जान वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरेको छु । हामी सँगै जानुपर्छ भन्ने मेरो भनाइ छ ।’

उनले आफूले निर्वाचन लड्ने कुरामा कुनै दुई मत नरहेको र आफूलाई महतोले यसअघि पराजित गरिसकेकोले उनले यसपालि फेरि लड्ने कि नलड्ने भन्ने सवाल उनीसँग गर्न आग्रह गरे । 
लोसपासँग गठबन्धन भइसकेपछि आपसमा छलफल गरेर निर्णयमा पुग्ने नेता निधिको विश्वास छ । 

ता निधिले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय भएकोले पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई औपचारिक पत्र उनले नै प्रदान गर्नेसमेत बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष शिवकुमार साहको आयोजनामा आइतबारदेखि धार्मिक यात्रा प्रारम्भ भएको छ । 

वडाध्यक्ष साहले आफ्ना वडाका ज्येष्ठ नागरिकहरूलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थ धामका लागि प्रस्थान गरेका छन् । यो यात्रा एक हप्तासम्म भारतको विभिन्न धार्मिक स्थानमा दर्शन अवलोकन गर्ने वडाध्यक्ष साहले बताए । वडाध्यक्ष साहले विगतका वर्षहरूमा पनि आफ्ना वडाका ज्येष्ठ नागरिकहरूलाई यस्ता धार्मिक भ्रमणहरू गराउँदै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस