काठमाडौं । नेकपा एमालेका सासंद योगेशकुमार भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहलाई फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउन अपिल गरेका छन्। उनले एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले उक्त प्रस्ताव गरेका हुन्। ‘काठमाडौंका मेयर बालेनलाई भन्छु, आउनुहोस् ठोस प्रस्तावसहित। नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ सांसद भट्टराईले भने, ‘यदि तपाईं यो सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ। काठमाडौंको बर्बादी हुने छ।’
त्यस्तै, सांसद भट्टराईले देउवा सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुत्ती नरहेकोले ध्यानाकर्षण पनि नगर्ने बताएका छन्।
‘काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास थियो। यो पटक ७१ दिन भयो। प्रधानमन्त्रीले कुनै पहल गर्नु भएको छैन, सम्बन्धित मन्त्री बेखबर छन्। काठमाडौंको फोहोरले झाडापखाला, हैजा निम्त्याएको छ,’ सांसद भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्न सक्दैन। यो सरकारको हुत्ती पनी छैन। त्यसैले म यो सरकारलाई ध्यानाकार्षण पनि गर्दिनँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १२ : १०
लेखकबाट थप