केन्या भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टीमको घोषणा, ज्ञानेन्द्र मल्ल भित्रिए

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १९ : १०
केन्या भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टीमको घोषणा, ज्ञानेन्द्र मल्ल भित्रिए

काठमाडौँ । पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि मंगलबार क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउँद पनि टोलीमा अटाएका छन्।

मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेलमा समावेश थिए। राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउँद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन्।

यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ। वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह रहेका छन्।

घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ। नेपालले भ्रमण गर्ने सिरिजमा पाँच ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन्। दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ।

घरेलु टोली केन्यासँगको सिरिजको लागि मंगलबार नै तालिकासमेत सार्वजनिक गरिएको छ। तालिकाअनुसार नेपालले पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ।

यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ। नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ सेख (विकेटकिपर),आरिफ सेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमेद, अर्जुन साउँद (विकेटकिपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव रहेका छन्।

वैकल्पिक खेलाडीमा जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी, हरिशंकर शाह छन्।

प्रतिक्रिया दिनुहोस