काठमाडौं । देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू आफ्नो माग सम्बोधन नभएको भन्दै मंगलबार बिदामा बस्ने भएका छन् ।
नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन् । निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राखेर उनीहरूले एक साताअघि सिंहदरबारमा प्रदर्शन गरेका नायब सुब्बाहरूले अहिलेको घोषित आन्दोलनमा तलब वृद्धिको मागलाई पनि समेटेका छन् ।
सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भेला भएका उनीहरूले त्यहीँबाट देशभरका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको करिब अढाई वर्षदेखि नायब सुब्बाहरूले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । १८ वर्षसम्म निरन्तर एउटै पदमा बसे पनि बढुवा नहुनु अन्यायपूर्ण स्थिति भएको भन्दै उनीहरूले विरोध प्रदर्शन गर्दै आएका थिए ।
नायब सुब्बाहरूले प्रस्तावित ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न, समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागु हुने गरी प्रत्येक पाँच वर्षमा एक तह वृद्धि हुने गरी तहगत व्यवस्था राख्नुपर्ने माग अघि सारेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ साउन २०७९, ०८ : ३१
लेखकबाट थप