काठमाडौं । लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप काम अघि बढ्ने भएको हो ।
वन तथा वातावरण मन्त्रालयको पछिल्लो बैठकको निर्णयअनुसार सो क्षेत्रमा भोगाधिकारको जग्गाभित्र पर्ने गरी मागबमोजिम ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । मन्त्री प्रदीप यादवका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पेश भएका सम्पूर्ण शर्तको पालना हुने गरी प्रसारण लाइन जडान हुनेछ ।
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म करीब ४ हजार ८३० मिटर लम्बाइको ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भएपश्चात् बारा र पर्साका उद्योगमा विद्युत् आपूर्तिमा थप सहजता आउने विश्वास लिइएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुबोधकुमार गुप्ताले बताए ।
यससँगै पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि रोकिएको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि थप प्रक्रिया अघि बढ्ने छ । समय–समयमा विद्युत् अवरुद्ध हुने, ट्रीपीङ हुने, भोल्टेज कम हुने, अघोषितरूपमा विद्युत् भार कटौती हुनेजस्ता समस्याबाट सास्ती खेपिरहेका उद्योगीले अब राहत पाउनेमा उद्योगी व्यवसायी आशावादी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन:बोलपत्र आह्वान
तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
विद्युत् प्रसारण लाइनको १८ किमी लामो सीमापार खण्डको काम अघि बढ्यो