पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, ०७ : २४
पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

काठमाडौँ । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले छ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। जुन पुरस्कार नेपालमा दोहारीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ।

यसैगरी द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमबाट रु ५५ लाख आम्दानी भई खर्च रु ३९ लाख ५० हजार कटाएर रु १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ। प्रतियोगिताको पुरस्कारमा मात्र रु १४ लाख ५० हजार खर्च हुनेछ।

एक समूहमा महिला र पुरुष एकरएक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गर्ने कार्यक्रम संयोजक दाहालले बताए।लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्या पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए। उनका अनुसार प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ।

नेपाली लोकबाजाको संरक्षण, सम्बद्र्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको हो। बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ।कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीतहरू सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याउनु भएका स्रष्टा शेरचनको विसं २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो।

स्व शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र‘।, सुखी ज्यानलाई गुँदरी काम्लो‘, आहा कलिलो तामालाई सोध रामलाई‘, ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु सङ्कलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस