काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरू बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्वतयारीको काम गर्नुपर्नेमा जाेड दिए।
नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याए।
‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्यसम्बन्धी अध्ययनका लागि रकम बाहिरिरहेको छ’, उनले भने, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो। अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।’
स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्त्वपूर्ण हुने धारणा उनले राखे।
राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरै छ। तर, आँखालगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो संख्या वृद्धि गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ।’
त्यसैगरी, अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरू बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी रहेको पनि बताए।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आपतकालीन पूर्वतयारीलाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्त्वपूर्ण रहेकाे बताए।
राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेकाे अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन् : अध्यक्ष तिमिल्सिना
अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट