विवादास्पद फैसला गर्ने न्यायाधीस धमाधम बर्खास्त

पत्रपत्रिकाबाट

मंगलबार, ०३ साउन २०७९, ०८ : १२
विवादास्पद फैसला गर्ने न्यायाधीस धमाधम बर्खास्त

काठमाडौं । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गरेको छ ।

उनीहरूले गरेको कार्यसम्पादन मूल्यांकन हुँदा ‘गम्भीर न्यायिक विचलन’ देखिएकाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय बैठकले गरेको हो । न्यायपरिषद्मा न्यायाधीशमाथि परेको उजुरी छानबिन क्रममा सोमबार न्यायाधीश निधि र शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि विवादास्पद फैसला गर्ने न्यायाधीशलाई चोख्याउने काम गर्दैै आएका थिए ।

उनले त्यसबेला न्यायिक विचलनमा परेका फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई सचेत गराउने काम मात्रै गरेर उन्मुक्ति दिएका थिए । राणाले ‘गम्भीर विचलन’ देखिएका न्यायाधीशलाई उन्मुक्ति दिँदा वरिष्ठतम् न्यायाधीशको हैसियतमा रहेका कार्कीको असहमति रहँदै आएको थियो । कार्की नेतृत्वमा आएलगत्तै गम्भीर विवादमा मुछिएका न्यायाधीशलाई धमाधम कारबाहीक्रम सुरु भएको छ । हालसम्म कार्की नेतृत्वको न्यायपरिषद् बैठकबाट पाँच न्यायाधीश बर्खास्तमा परिसकेका छन् ।

न्यायाधीश राकेशकुमार निधि उच्च अदालत राजविराजमा रहँदा गरेको कार्यसम्पादनका कारण विवादित भएका थिए । कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायाधीश बनेका निधि २९ पुस २०७३ मा न्यायाधीशमा सिफारिस भएका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बसेको न्यायपरिषद् बैठकले मध्यरातमा उनको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । कानुन व्यवसायीको २५ कोटामा उनी परेका थिए । निधिलगायत ८० न्यायाधीशको नियुक्ति विवादमा परेको थियो ।

त्यस्तै, सिरहामा रहँदा ‘विवादित फैसला, न्यायिक कार्यसम्पादन र आचरण ठीक नभएको’ जनाउँदै न्यायपरिषद्ले जिल्ला न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको जनाएको छ । २१ साउन २०७२ मा जिल्ला न्यायाधीश भएका उनी सरकारी वकिलबाट न्यायाधीश बनेका हुन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस