नेपाल ट्वान्टी–२० लिग : दुई फ्रेन्चाइज टोलीमा भारतीय लगानी

पत्रपत्रिकाबाट

मंगलबार, ०३ साउन २०७९, ०८ : ०५
नेपाल ट्वान्टी–२० लिग : दुई फ्रेन्चाइज टोलीमा भारतीय लगानी

काठमाडौं । पहिलो पटक हुन लागेको नेपाल ट्वान्टी–२० लिगमा दुई फ्रेन्चाइज टोलीको स्वामित्व भारतीय कम्पनीले खरिद गरेका छन्।  पहिलो संस्करणको नेपाल ट्वान्टी–२० क्रिकेट लिग आगामी असोज ८ देखि कात्तिक पाँच गतेसम्म आयोजना हुँदै छ। सोही लिगका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार एक कार्यक्रम आयोजना गर्दै ६ फ्रेन्चाइज टोलीमध्ये चार टोलीको नाम र मालिक सार्वजनिक गरेको थियो।

तीमध्ये दुई भारतीय स्वामित्वमा रहेका फ्रेन्चाइज टोली हुनेछन्। नेपाल ट्वान्टी–२० क्रिकेट लिगमा पनि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नै रणनीति र कमर्सियल साझेदारीको अधिकार पाएको छ। विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सलाई भारतीय कम्पनीले खुला प्रतिस्पर्धाबाट खरिद गरेका हुन्।  

राजस्थानको गोल्ड स्पोटस प्राइभेट लिमिटेडले जनकपुर रोयल्सलाई किन्यो। यो कम्पनीले सन् २०१६ देखि नै खेलकुद क्षेत्रमा काम गर्दै आएको जनाएको छ। अर्को भारतीय कम्पनी डाइमन्ड डिजिक्याप स्पोर्ट्स प्रालिले भने विराटनगर सुपर किङ्सलाई आफ्नो बनायो। डाइमन्ड डिजिक्याप भने भारतमा सुन र हीराको व्यापार गर्दै आएको कम्पनी हो। यी दुवै कम्पनीले नेपालको क्रिकेट विकासमा कोसेढुङ्गा बन्ने महत्वाकांक्षासहित नेपाल ट्वान्टी–२० लिगको हिस्सा बनेको जनाएका छन्।

यद्यपि, यी दुई कम्पनीसहित चार कम्पनीले कति मूल्यमा फ्रेन्चाइज टोली खरिद गरे भन्ने बारे खुलाइएको छैन। ‘अहिले हामीले चार फ्रेन्चाइज टोली मात्र सार्वजनिक गरेका छौं। कम्पनीकै आग्रहमा आज उहाँहरूको नाम सार्वजनिक नगरेका हौं। बाँकी दुई टोली पनि छिट्टै घोषणा गर्नेछौं,’ क्यानका सचिव प्रशान्त मल्लले भने, ‘यी टोलीले कति मूल्यमा फ्रेन्चाइज खरिद गरे भन्ने चाहिँ खुलाउन नमिल्ने सम्झौतामा उल्लेख छ।’ अब फार वेस्टर्न र पोखराका लागि पनि टोली घोषणा हुन बाँकी छ। अमेरिकामा व्यावसायिक क्रिकेट लिग खेल्दै आएको अल स्टार स्पोर्ट्सले लुम्बिनी अल स्टार्स खरिद गर्‍यो।  

टेक्सासमा रहेको अल स्टारले पनि अमेरिकामा क्रिकेट खेल्दै आएको छ। केही महिना अगाडि मात्र नेपाली क्रिकेट टोलीले अमेरिका भ्रमण गर्दा अल स्टारसँग अभ्यास क्रिकेट पनि खेलेको थियो। कान्तिपुर मिडिया ग्रुपले भने कान्तिपुर क्यापिटल्स खरिद गर्‍यो। सोमबार एक कार्यक्रमबीच यी चारै टोलीका मालिक पनि सार्वजनिक गरिएको थियो। सबैले नेपालमा क्रिकेट खेल निकै लोकप्रिय रहेको र यो फ्रेन्चाइज लिगले नेपालको क्रिकेटलाई राम्रो उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस