भारतसँग झुकेर होइन शीर ठाडो पारेर सम्बन्ध सुधार गरिएको हो : प्रधानमन्त्री ओली

सोमबार, २१ जेठ २०७५, १५ : ४५
भारतसँग झुकेर होइन  शीर ठाडो पारेर सम्बन्ध सुधार गरिएको हो : प्रधानमन्त्री ओली

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका छन् ।  प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकलाई सोमवार हेटौंडामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले  नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिन भनेपछि सम्बन्ध पुनस्थापना भएको बताएका हुन् ।

‘छिमेकिसँग सम्बन्ध सुमधुर भएको छ । सम्बन्ध पुनस्थापित भएको छ । म गर्वका साथ भन्न चाहन्छु । सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षे स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अण्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नै पर्छ जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतालाई मानेर, शीर उठाएर सम्बन्ध सुधार गरेका छौं ।’

ओलीले अब नयाँ गतिमा मुलुक अघि बढ्ने बताएका छन् । नयाँ संविधानअनुसार संघीयता कार्यन्वयनमा आएकाले अब विकासको लक्ष्य पुरा गर्नुपर्ने बताए । नेपालले हाइवे पक्डिएको र अव गाडि पाँच गियरमा दौडने बताए । ओलीले भने,‘ हाइवे पक्डेको छ, गाडि पाँच गियरमा गुड्छ अव अल्मलनुपर्ने छैन ।’  

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई जनताले मन नपराउने कुनै काम नगर्न निर्देशन पनि दिए । ‘हिजो नमस्ते गरेर भोट पाउनुभएको छ । आज पनि तपाई कता जाँदै हुनुहुन्छ भनेर जनताले सोध्छन् । जनताले सोधेको प्रश्न दिन सधै तयार हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले पृथकतावाद नेपाललाई कुनैपनि हालतमा स्वीकार्य नहुने बताए । ‘कहाँ थियो, कहिले थियो मधेश भन्ने देश ?’ उनले प्रश्न गरे । ‘पृथकतावाद नेपाललाई कुनैपनि हालतमा स्वीकार्य हुँदैन । भन्ने शान्तिपूर्ण हो, पृथकतावादको तयारीका लागि शान्तिपूर्ण भनिएको हो’ कुनै समूहको नाम नलिइ प्रधानमन्त्री ओलीेले भने, ‘पृकथतावाद जस्तो देशद्रोही बाटोमा नजान र क्रान्ति परिवर्तनका नाममा हिंसात्मक कुराहरु नगर्न, क्रान्ति नै गर्छु भन्ने असम्भव भ्रममा नलाग्न आग्रह गर्छु ।’
प्रधानमन्त्री ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको भन्दै त्यस्ता गतिविधि भए शैह्य नहुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस