आफूहरुलाई कसैले कांग्रेसको बुइँ चढ्यो भन्ने र कसैले कांग्रेसलाई बुइँ चढायो भन्ने गरेको तर हामी हातेमालो गरिरहेका छौं : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १३ : ०६
आफूहरुलाई कसैले कांग्रेसको बुइँ चढ्यो भन्ने र कसैले कांग्रेसलाई बुइँ चढायो भन्ने गरेको तर हामी हातेमालो गरिरहेका छौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई कसैले कांग्रेसको बुइँ चढ्यो भन्ने र कसैले कांग्रेसलाई बुइँ चढायो भन्ने गरेको भए पनि आफू हातेमालो गरिरहेको बताएका छन्।समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषय आफ्नोआफ्नो व्याख्या र नजरको कुरा भएको बताए।

‘हातेमालो गरेर अगाडि बढिहरेका छौं। अवश्य पनि हो, हामी सहकार्य गर्दै अगाडि बढिरहेका छौं। हातमालो र सहकार्य गर्दाखेर जो माथिल्लो पदमा पुगेको छ। जसले बढी फाइदा उठाएको छ। उसले अरुको बुइँमा चढेको अर्थ लाग्दछ’, उनले भने।

नेपालले कांग्रेस आफूहरुको बुइँ चढेको भए आफूहरुको जिउ बलियो रहेछ भन्ने अर्थ लाग्ने बताए। उनले राजनीतिमा बुइँ चढ्ने कुरा पनि स्वभाविक भएको बताए। ‘हामी कहिले अरुको बुइँमा चढेका छौं। म पनि चढेकै हुँ। त्यसैले त्यो बुइँको व्याख्या गर्ने हो भने जो माथि पुग्यो, अरुको बुइँमा चढेरै पुग्छु’, उनले भने।

माधव नेपाल २०६६ सालमा कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला तेस्रो ठूलो दल एमालेका नेता नेपाललाई दोस्रो ठूलो दल कांग्रेसले सहयोग गरेर प्रधानमन्त्री बनाएको थियो।

उनले राजनीतिमा विश्वास दिने मुख्य कुरा भएको बताए। ‘विश्वासलाई जोगाउने अर्को मुख्य कुरा हो। विश्वास दिने एउटा कुरा हुन्छ, जोगाउने अर्को कुरा हुन्छ। यो सम्बन्धन भनेको विश्वासको सम्बन्ध पनि हो। त्यसकारणले म भन्ने गर्छु, यो राजनीतिक सम्बन्ध पनि हो, विश्वासको सम्बन्ध पनि हो। अहिलेकाहिँ राजनीतिभन्दा विश्वास माथि हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस