ज्योतिषलाई देखाएर प्रदेश–प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

पत्रपत्रिकाबाट

बुधबार, २२ असार २०७९, ०८ : ०१
ज्योतिषलाई देखाएर प्रदेश–प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले सम्भवतः बुधबार (आजै) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ ।

‘बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति छलफल गर्ने तयारी छ, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक, २ र ५ मंसिरको मितिमध्ये एक मिति उपयुक्त हुन सक्ने देखिएको छ,’ आयोग उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार आयोगले यसअघि ३० कात्तिकको मिति प्रस्ताव गर्ने तयारी गरेको थियो । तर, आयोगका उच्च तहका पदाधिकारीनिकट ज्योतिषले सो मिति उपयुक्त नहुने सुझाएपछि आयोगले २ र ५ मंसिरको मितिसमेत विकल्पमा राखेर सिफारिस गर्ने तयारी गरेको हो । उता प्रधानमन्त्री शेरबहादुर देउवा पनि ज्योतिषीलाई हेराएरै मिति तोक्ने गृहकार्यमा छन् ।

निर्वाचन आयोगको परामर्शमा निर्वाचनको मिति भने सरकारले नै तोक्नेछ । तीनवटा मितिमध्येमा पनि २ मंसिरको मिति अझै उपयुक्त देखिन्छ, शुक्रबारसमेत परेकाले सो मिति उपयुक्त हुन्छ भन्ने छ,’ आयोग स्रोतले भन्यो । यसअघि स्थानीय तह निर्वाचनको मितिसमेत ज्योतिषलाई देखाएरै तय गरिएको आयोग स्रोत बताउँछ । त्यसबखत आयोगले ५ जेठको मिति प्रस्ताव गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीकै सल्लाहमा ३० वैशाखको मिति तय गर्न लगाएका थिए ।

आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्नेछ । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिमा समेत छलफल गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस