काठमाडौँ । मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले अर्थमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो।
केही दिनअघि स्थानीय एक पत्रिकाले अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम कानुनविपरीत आफ्नो जिल्लामा रकम निकासा गरेको समाचार प्रकाशित गरेको थियो। त्यसको मन्त्रालयले कुनै खण्डन नगरेको भन्दै लोसपाका सांसदहरूले मन्त्रीका जवाफ मागेका थिए। तर मन्त्रीले सप्रमाण जवाफ नदिएको भन्दै बैठकमा अवरोध गरेपछि सभामुख सरोज रायले बैठक स्थगित गरेका हुन्।लोसपाका प्रमुख सचेतक प्रमेश्वर साहले सम्बन्धित मन्त्रालयलाई जानकारीसमेत नदिइ अर्थ मन्त्रालयले २० करोड रकम व्यवस्थापन गरेको भन्दै आएको समाचारको जवाफ दिन माग गरेका थिए। तर मन्त्री साहले सिँचाइ कार्यालय सप्तरीले भौतिक विकास मन्त्रालयलाई भनेपछि मन्त्रालयले जेठ १६ मा निर्णय गरेर पठाएपछि बजेटको व्यवस्थापन गरेको जवाफ दिएका थिए।
प्रमुख सचेतक साहले सप्रमाण जवाफ दिनुपर्ने र यस विषयमा प्रश्न उठेकाले प्रदेशसभाबाट समिति बनाइ अनुगमन गरेर सभामा सबैलाई जानकारी गराउन समिति गठन गर्नुपर्ने बताए।प्रदेश सरकारले बजेट ल्याएको २० औँ दिनमा प्रदेशसभा बैठक बसेको थियो तर करिब पौने एक घण्टामै बैठक स्थगित भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, १४ : ४७
लेखकबाट थप