राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने– पूर्व गभर्नर

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १७ : ०६
राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने– पूर्व गभर्नर

काठमाडाैँ  ।  नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताएका छन्। शुक्रबार काठमाडौं आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमा शंका व्यक्त गरे। 

उनले बैंकहरुले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको बताए। पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हेरक फोरमहरुमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रुपमा भनेकाले शंका गर्ने स्थिति रहेको बताएका हुन्। 

अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पु¥याएर व्यहारमा देखाएको उनको दावी छ। क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकमसमेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत रहने बताए। 

सरकारले बजेट भाषणमा बैंकिङ ब्याजदर घटाउने नीति ल्याउने तर राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढ्ने बताइसकेकाले सरकार र राष्ट्र बैंकबीचमा अन्तरविरोध रहेको उनको भनाइ छ। सरकारको नीतिमै स्थिरता नआएसम्म अर्थतन्त्र्रमा समस्या आइराख्ने उनले बताए। ‘नेपालको अर्थतन्त्र अहिले नै श्रीलंकाको जस्तो छैन। तर, त्यहाँजस्ता राजनीतिक अधिका सिमित व्यक्तिलाई दियो भने कुनै समय त्यो अवस्था पक्का आउँछ’, उनले भने।

श्रीलंकामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री बनेर जथाभावी करका दरहरु चलाएकाले अहिलेको स्थिति आएको उनको भनाइ छ। पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै स्थानीय निर्वाचन सम्पन्न गरेको र अब संघ र प्रदेशको निर्वाचन गर्ने तयारीमा रहेकाले श्रीलंकासँग जोड्न नहुने बताए। 

प्रतिक्रिया दिनुहोस