काठमाडाैँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरण मैत्री भए नभएको विषयलाई प्रथमिकता दिएको बताएका छन्। शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।
‘पूर्वाधार निर्माण गर्दा वातावरणमा असर नपर्ने गरी गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ।’
अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गरिरहेको महानगरकी उपप्रमुख सुनिता डंगालले बताइन्। अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिएका थिए।
वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने उनको भनाइ थियो।वडा २६ मा रहेको भगवान बहाल पुननिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिए। उनका अनुसार करिब ४ करोड लागतमा बहाल पुननिर्माण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ।
जसमध्ये १ करोड ५० लाख काठमाडौँ महानगरपालिकाको सहयोग छ। बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो। दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ। जसमा सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्वार गरिनेछ।
त्यस्तैगरी वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो। त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख साहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका विषयमा कुराकानी गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १४ : १८
लेखकबाट थप