राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुलिङ: ठीक समयमै बैठकमा उपस्थित हुनुहाेस्

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १३ : ५४
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुलिङ: ठीक समयमै बैठकमा उपस्थित हुनुहाेस्

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन्।राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरे।

उनले सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए।अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत् जनताप्रति जवाफदेही बन्न रुलिङ गरे।

उनले भने, ‘माननीय सदस्यहरू, हाम्रो संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रूपमा संघीय संसदप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ। सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरूको जिम्मेवारी हो। लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्त्व हुन्छ। तसर्थ म नेपाल सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत् जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु।’

प्रतिक्रिया दिनुहोस