काठमाडौं । कैलालीका नेकपा एमालेका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो।
एमाले कैलाली सचिव डेजी पाण्डेका अनुसार जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्नेछ।
३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए।
तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफसमेत नफर्काएपछि साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ।एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए।
स्थानीय निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण एमालेले सोचेजति सिट र मत पाउन नसकेको पार्टीले निष्कर्ष निकालिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १३ : १७
लेखकबाट थप