काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने नेकपा एकीकृत समाजवादी (नेकपा एस) को स्थायी कमिटी बैठकको निर्णयमा पार्टीको तर्फबाट बहालवाला मन्त्रीहरुले आपत्ति जनाएका छन्।
सिफारिस गरिएका नयाँ मन्त्रीको नामलाई लिएर उनीहरुले आपत्ति जनाएका हुन्। सिफारिस गरिएकाहरु मन्त्री बन्नको लागि उपयुक्त नभएका, कार्यक्षमता र दक्षता नभएकोदेखि संघीय सांसद नभएका व्यक्ति रहेका भन्दै उपयुक्त व्यक्ति सरकारमा नपठाए आफूहरुले पद नछाड्ने बहालवाला मन्त्रीले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।
एकीकृत समाजवादीले मेटमणि चौधरी, शेरबहादुर कुँवर, हालका स्वाथ्यराज्यमन्त्री भवानीप्रसाद खापुङ,जीवनराम श्रेष्ठ र हिराबहादुर केसीको नाम नयाँ मन्त्रीका रुपमा अघि सारेको छ।
खापुङलाई स्वाथ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ।पार्टी पंक्तिले अघि सारेको नाममा धेरै विरोध गर्नेहरुमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्री छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि आपत्ति जनाएका छन्। उनीहरुले दुबै सदनबाट आगामी आर्थिक बर्षको बजेट पारित भएपछि सशर्त मन्त्रीबाट हट्ने बताएका छन्। राज्यमन्त्रीबाट मन्त्री बन्ने दाउमा रहेका खापुङले भने मन्त्रिमण्डल हेरफेरको बिषयमा बोलेका छैनन्।नयाँ मन्त्रीमा सिफारिस गर्न खोजिएका मध्ये सबै पुरुष छन्। महिला पनि सहभागी गराउनुपर्ने उनीहरुको माग छ।
यसैबीच मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्री शेरबहादुर देउवाले नै रोकेको बुझिएको छ। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा मन्त्रिमण्डल फेरबदल रोकिएको विश्वस्त स्रोतले जानकारी दिएको छ। नेकपा एसको तर्फबाट मन्त्री बनेकाहरु फेर्दा आफ्नो पार्टीका मन्त्री पनि फेर्नुपर्ने दबाब आउन सक्ने भएकाले देउवाले रुचि नदेखाएको बुझिएको छ।
स्रोतका अनुसार नेकपा एसका बहालवाला मन्त्रीले पनि मन्त्रिमण्डल फेरबदल नगर्न देउवालाई आग्रह गरेका छन्।पद जोगाइदिन देउवालाई गरेको आग्रहमा देउवाले आफ्नै पार्टी अध्यक्षलाई भेटेर छलफल गर्न भनेपछि बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवासमा छलफल भएको थियो।
मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेपालले गरेको निर्देशनमा विशेष गरी मन्त्री आले र झाँक्रीले असहमति जनाएका थिए।
देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति पर्यटनमन्त्री आले र सहरी विकासमन्त्री झाँक्रीले असहमति प्रकट गरेका छन्।
कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईँहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन्। झाँक्रीले आफूहरुले रामै्र काम गरिरहेको भन्दै फोहोर ब्यवस्थापनको कार्य आफ्नै पहलमा सम्पन्न भइरहेको र अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा पुगेकाले फिर्ता नबोलाईदिन आग्रह गरिन्।
दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आलेले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए।
स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्वीकार गरेका थिए।
राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्न र स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउन उनीहरुले आग्रह गरेका छन्।
अध्यक्ष नेपालले ‘तपाईँहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला। तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुस्’ भनेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १५ : ०५
लेखकबाट थप