प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १४ : ३४
प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताले दुःख पाएको भन्दै युक्रेन–रसिया युद्धलाई देखाएर मूल्य नबढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल मूल्य घटाउन माग गरेका छन्।सांसद सहिना हुसेनले महँगीले गरिब चुल्हो नबलने स्थिति भएको भन्दै मूल्य घटाउन माग गरिन्।

सांसद लक्ष्मी चौधरीले इन्धनमा भएको मूल्यवृद्धिले जनताले दःख पाएको भन्दै युक्रेन रसिया युद्धलाई देखाएर मूल्यवृद्धि गर्ने काम तत्काल बन्द गर्न आग्रह गरिन्।उनले नागरिकता र संघीय निजामति ऐन ल्याउन माग गरिन्। उदयरपुरका जनता बाढी पहिरोको जोखिममा रहेको हुँदा त्यहाँका नागरिकलाई सरकार छ भन्ने अनुभूति दिलाउन उनले माग गरेकी छन्।

यसैगरी सांसद लालप्रसाद साँवाले बर्खे बिदा आउन लाग्दासमेत विद्यार्थीले किताब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए। साथै किसानलाई मल उपलब्ध गराउन उनले माग गरे।सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न माग गरे।

यस्तै सांसद विना श्रेष्ठले सबै नागरिकले नागरिकता पाउनुपर्ने बताइन्। नागरिकता सबै नागरिकले पाउनुपर्छ। लाखौँ व्यक्ति नागरिकताविहीन भएर बस्नु परेको छ। विदेशमा काम गर्न, अध्ययन गर्न, बैंकमा खाता खोल्न पाएका छैनन्। नेपाली भएर पनि नागरिकताविहीन हुने स्थितिको अन्त्य होस्। नागरिकता पारित गरौँ,’ उनले भनिन्।

सांसद विनादेवी बुढाथोकीले काठमाडौँमा हैजाको जोखिम देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘प्रदूषणयुक्त पानीका कारण काठमाडौँमा हैजाको जोखिमका परेको छ। चार जना उपरचाका लागि टेकुमा छन्। यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु। उपत्यका विकास प्राधिकरणमा २२ वर्षदेखि कर्मचारीको सरुवा भएन्।’

यस्तै सांसद बिन्दा पाण्डेले एसपीपीका सबै कागजपत्र सार्वजनिक गर्न माग गरिन्। उनले भनिन्, ‘एसपीपीमा सहभागी नहुने सरकरको निर्णयले खबरदारीले सार्थकता पाएको छ। त्यसका लागि भएका सबै कागजात सार्वजनिक होस्। अवधि तोकेर सार्वजनिक गर्न माग गर्दछु। बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागीताको कुरा उठेको छ। सिसिटिभी सार्वजनिक गरियोस्।’‍

प्रतिक्रिया दिनुहोस