गठबन्धनमा अपमान भयो, एक्लै लडेको भए २० लाख मत ल्याउँथ्यौँ : खनाल

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १६ : १७
गठबन्धनमा अपमान भयो, एक्लै लडेको भए २० लाख मत ल्याउँथ्यौँ : खनाल

काठमाडाैँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एक्लै लडेको भए स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत ल्याउने दाबी गरेका छन्।आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनमा आफ्नो पार्टीलाई अपमान भएको बताए।

उनले भने, ‘काठमाडौं जिल्लामा २२ लाख जनसंख्या छ। हामीले जित्न सकेनौँ, त्यसबारे हामीले समीक्षा गरिरहेका छौँ। अहिले ९ लाख मत प्राप्त गरेका छौँ। राष्ट्रव्यापी उम्मेदवार उठाउन सकेको भए हामीले २० लाख मत प्राप्त गर्ने रहेछौँ। त्यसमा हाम्रो पनि कमजोरी रह्यो।’

गठबन्धन दलबाट अपमान भएकै कारणले धेरै मत र सिट प्राप्त गर्न नसकेको उनले दाबी गरे।

उनले जनप्रतिनिधिहरूलाई निर्देशन दिँदै भने, ‘हामीले थोरै जितेका छौँ। हामी समाजवादको हितमा अगाडि बढ्नुपर्छ। तपाईहरु आगोको झिल्को बन्नुपर्छ। नमुना काम गर्नुभयो भने अर्को पटक हामीलाई नै जिताउँछन्। हाम्रो पार्टी र जनप्रतिनिधिलाई स्थापित गर्ने आधार पनि यही हो।’

उनले युक्रेन र रुसकै युद्धले अन्तरराष्ट्रिय बजारमा प्रभाव परेको कारण मूल्यवृद्धि भएको बताए। मूल्यवृद्धिको पक्षमा एकीकृत समाजवादी नभएकाले जनतालाई सहुलियत दिन सरकारको ध्यानाकर्षण समेत गराए। 

प्रतिक्रिया दिनुहोस