काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु नेपाल आयल निगमको बाध्यता रहेको बताएका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निगमले आफू निरन्तर घाटामा गएर पनि पेट्रोलियम पदार्थको कारोबार गरिरहेको बताए।
पछिल्लो समय जारी रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकटको अवस्था सिर्जना भएको भन्दै मन्त्री बडूले नेपालमा पनि त्यसको असर देखिएको बताए।
‘पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विश्व उर्जा संकटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर आइरहेको अवस्था छ। तर निगमले आफू घाटामा रही कारोबार कार्य गरिरहेको बाध्यात्मक अवस्था छ,’ मन्त्री बडूले भने।अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया निगमले विगतदेखि नै अवलम्बन गर्दै आइरहेको उनको भनाइ छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा सर्वसाधारणलाई राहत दिन सरकारले कर समायोजन गरेर प्रतिलिटर १० रुपैयाँ घटाएको पनि उनले उल्लेख गरे।
उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणमा पर्न गएको असुविधालाई ध्यानमा राख्दै हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहात प्रदान गर्ने उद्देश्यले उद्योग मन्त्रालयको प्रस्तावमा १० रुपैयाँ घटाइसकिएको छ।’
साथै सबै सरकारी कार्यालयमा पेट्रोलियम पदार्थको खपत २० प्रतिशत घटाउन निर्देशन दिएको पनि उनले जानकारी दिए। यस्तै खाना पकाउने ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १४ : ४३
लेखकबाट थप