कालापानीमा भारतीय फाेज बसेकाले लिपुलेक र कालापानीमा प्रवेश गर्न पाएनाैँ : ओली

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १३ : ४६
कालापानीमा भारतीय फाेज बसेकाले लिपुलेक र कालापानीमा प्रवेश गर्न पाएनाैँ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू-भाग चाहियो भन्नु अर्घेल्याइ नभएको स्पष्ट पारेका छन्।अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू-भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइ नभएको प्रस्टाएका हुन्।

मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धिलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्नेजस्तो आफूलाई लाग्ने गरेको पनि बताए।

उनले भने, ‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नु पर्छ। पारस्परिक सम्मान, पारस्परिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनु पर्दछ। अब छिमेक सम्बन्ध गर्दा समस्या छँदैछन् भने हेपिएको महसुस भइराखेको छ भने वास्तवमा सम्बन्ध सुमधुर हुँदैन, आत्मीय हुँदैन। मित्रतापूर्ण सम्बन्ध हुँदैन। मैले हाम्रा छिमेकीहरूसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखे। यदि हाम्रा अलिकति पनि अमिलोपन, चिसोपन रह्यो, भन्न नसक्ने, बोल्न नसक्ने अवस्था रह्यो भने मित्रता कसरी रहन्छ? एक्काइसौँ शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्ना सत्ता स्वार्थहरूलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदावाजी गर्नुहुन्न। राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ। खुलस्त पनि हुनुपर्छ।’

अध्यक्ष ओलीले कालापानीमा भारतीय फाैज बसेकाले लिपुलेक र कालापानीमा प्रवेश गर्न नपाएकाे पनि बताए।

उनले भने, ‘हामीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि १ सय ४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो। त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो। र साठी वर्षदेखि त्यहाँ छ। कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौँ। यो बिल्कुल यथार्थ हो।’

सीमासम्बन्धी समस्या छलफल गरेर टुंग्याउनुपर्ने ओलीकाे भनाइ छ।

‘हाम्रो सीमासम्बन्धि समस्या छलफल गरौँ र यसलाई टुंग्याऔँ। यो हाम्रो भूभाग चाँहि हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै अर्घेल्याइ होइन। यो सम्बन्ध बिगार्ने कुरा पनि होइन। यस्ता कुरालाई सल्टयाउनुपर्छ। नेपालमा राजनीतिक खचपच नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा सन्दर्भहरू चाँहि अहिलेसम्म समस्या समाधान भइसक्थ्यो भन्ने मलाई लाग्छ। यो विषयमा मैले खुलस्त छलफल गरेको थिए।’

प्रतिक्रिया दिनुहोस