काठमाडाैँ । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन्। काठमाडौंमा आयोजित एउटा कार्यक्रममा ओलीले माधव नेपालको नाम लिएर आफूले कुल्ला गर्ने अभिव्यक्तिप्रति भुसालले व्यंग्य गरेका हुन्।
नेता भुसालले भने, ‘ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्नुभयो भने एमालेका खास खास कार्यकर्तालाई बान्ता नगरि सुखै छैन। कमरेडले कुल्ला गर्नुहुन्छ‚ कार्यकर्ताले बान्ता गर्नुपर्छ। चाहेर नचाहरेर पनि हाम्रो योग्यता यसमा देखिन्छ। हामीले यो समाजलाई कता लैजाँदैछौँ त्यही देखिन्छ।’
उनले ओलीलाई मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कटाक्ष गरेका छन्।
‘प्रचण्ड एमालेको पत्ता साफ गर्नुपर्छ भन्नुहुन्छ। त्यसपछि माओवादीका साथीहरू लाठीढट्टा लिएर उभिनुहुन्छ। त्यो उहाँहरूको योग्यता हो‚’ उनले कटाक्ष गरे, ‘माधव कमरेडले एमालेलाई धुलो चटाइदिन्छु भनेपछि हाम्रा समाजवादीका साथीहरू ओलीको पुत्ला जलाउनतिर लाग्नुहुन्छ। हाम्रो योग्यता कति पुत्ला जलाउँछौ ओलीको त्यसको आधारमा जोडिने अवस्था बनेको छ।’
ओली र प्रचण्डको भागबण्डा नमिलेपछि नेकपा विभाजन भएको आरोप नेता भुसालले लगाए। नेकपा फुटेर मुलुकले धेरै लामो संघर्षबाट आर्जेको सपना बर्बाद भएको समेत उनले बताए। ओली र प्रचण्डको सत्ता सहकार्यको पत्र बाहिरिएपछि पार्टी विभाजन भएको उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १६ : १७
लेखकबाट थप