काठमाडाैँ ।प्रदेश १ को नामाकरणको विषयमा नेकपा एमालेले भेटघाट तीव्र बनाउन थालेको छ।एमालेतर्फबाट प्रदेश नामाकरणबारे गठित टोलीको संयोजक हिक्मत कार्कीसहितको टोलीले बुधबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेको हो।विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा प्रदेश नामाकरणका विषयमा आफूहरुबीच छलफल भएको संयोजक एवं पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले जानकारी दिए।
भेटमा यही प्रदेशसभाबाट नामको विषय टुंग्याउनुपर्नेमा सबै संवेदनशील भएको पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका थिए। उनले छलफलमा नामाकरणलाई प्रदेश सभाको बिजनेशका रुपमा लिइनुपर्ने र सत्ता पक्ष र प्रतिपक्षका रुपमा हेर्न नहुनेमा जोड दिएको बताए।छलफलमा डा. कोइरालाले प्रदेशको नामाकरण टुंग्याउने विषयमा आफू सकारात्मक रहेको बताएको पूर्वमन्त्री घिमिरेले जानकारी दिए। उनका अनुसार प्रदेश सभाबाट नाम टुंग्याउनुपर्ने हुँदा अहिलेको सरकारबाट सक्दा जनमानसमा सही सन्देश जाने भनाइ डा. कोइरालाको थियो। भेटका क्रममा नेकपा एमाले प्रदेश संसदीय दलका नेता बुद्धिकुमार राजभण्डारी पनि थिए।
मंगलबार नामाकरणका विषयमा एमालेतर्फबाट गठित टोलीका संयोजक कार्कीले जसपाका नेता एवं प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवसँग छलफल गरेका थिए।नेकपा एमाले नेतृत्वको बहुमतको सरकार हुँदा करिब साढे ३ वर्ष नाम राख्ने बाचा मात्र हुँदै आएको थियो।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले पटक पटक नामाकरण पुरा हुने बताएपनि हालसम्म यसले पूर्णता पाउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १४ : ३९
लेखकबाट थप