मन्त्री अथक र रसियाका खेलकुदमन्त्रीबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १४ : १३
मन्त्री अथक र रसियाका खेलकुदमन्त्रीबीच भेटवार्ता

काठमाडाैँ । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो। रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरूलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरूलाई तालिम दिने तथा दुबै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताए।

साथै उनले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए।भेटमा बोल्दै मन्त्री अथकले नेपाल र रसिया बीचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत् थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे।भेटकै क्रममा मन्त्री अथकले रसियाका खेलकुदमन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन्।

उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारित हुने बताएका थिए।मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस