काठमाडाैँ । प्रदेश १ सरकारले आज आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछ । सरकारले यस पटक कृषि, उद्योग र रोजगारी सिर्जनालाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी गरेको हो ।
चालू आर्थिक वर्षका लागि ३२ अर्बको बजेट विनियोजन गरिएको थियो । प्रदेश १ सरकारले अहिलेसम्ममा ६० प्रतिशतमाथि पुँजीगत खर्च गरेको छ । असार महिनामा अधिकांश राजस्व पनि संकलन हुने र भुक्तानी पनि बढी हुने भएकोले ८० प्रतिशतभन्दा बढी खर्च हुने प्रदेश सरकारको अनुमान छ ।
यस पटक बजेटको आकार २० प्रतिशतले बढ्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । यसपालि संघीय सरकारबाट सामान्यीकरण अनुदान र राजस्व बाँडफाँडबाट करीब १० प्रतिशत वृद्धि भएर प्राप्त भएको छ । प्रदेशको राजस्व पनि १० प्रतिशत हाराहारी वृद्धि हुने अपेक्षा प्रदेश सरकारले गरेको छ । सशर्त र समपूरक अनुदान पनि संघीय सरकारबाट विगत आर्थिक वर्षभन्दा यस पटक बढेर आएको छ ।
यस पटक प्रदेश सरकारले राजस्वको दरलाई सामान्य मात्रै हेरफेर गरे पनि राजस्वको दायरा भने व्यापक बनाउने तयारी गरेको छ । आयातलाई प्रतिस्थापन गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित प्रदेशको बजेट ल्याइने जनाइएको छ । त्यसका निम्ति कृषिलाई विशेष प्राथमिकता दिने, प्रदेशभित्रका घरेलु र साना उद्योगलाई प्रवद्र्धन गर्ने र रोजगारी सिर्जना गर्ने विषयलाई प्रदेश सरकारले जोड दिने गरी बजेट ल्याएको मन्त्री आङबोले बताए ।
१ नम्बर प्रदेश निर्यातमा अन्य प्रदेशभन्दा अगाडि भएका कारण निर्यातलाई प्रवद्र्धन गर्ने गरी बजेटको तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले प्राथमिकता प्राप्त पूर्वाधार प्रदेश लोकमार्ग, प्रदेशका कतिपय रणनीतिक सडकहरु, खानेपानी, सिँचाइलगायतका ठूला आयोजनालाई आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था हुने भएको छ । जसबाट रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई सहयोग पुग्ने प्रदेश सरकारले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १३ : ०७
लेखकबाट थप