गच्छदारले सेटिङ मिलाएको आरोपमा सुनसरी ३ को मतगणना स्थगित

सोमबार, २५ मंसिर २०७४, १५ : ०९
गच्छदारले सेटिङ मिलाएको आरोपमा सुनसरी ३ को मतगणना स्थगित

सुनसरी,२५ मंसिर । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ ।

यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको मत २९ हजार १७१ छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले सेटिङ मिलाएर आफूलाई हराउने खोजेको चौधरीको आरोप छ । ‘हिजोसम्म गच्छदारका कार्यकर्ताहरु हारियो भन्दै हार स्वीकार गरेर हिँडिसकेका थिए । तर, सेटिङ मिलेपछि आज विहानबाट अचानक उनीहरुको चहलपहल बढ्यो’, उनले भनिन्, ‘एकाएक अधकट्टी सहितको मतपत्र देखिएपछि हामीले मतपत्रको सिरियल नम्बर हेर्न खोज्यौं । तर, निर्वाचन अधिकृत टिका घिमिरले कुन कानुनमा छ, सिरियल हेर्ने रु भन्दै हामीलाई हेर्न दिएनन् । निर्वाचन अधिकृतले जे बोल्यो त्यहि अन्तिम हुन्छ भनेपछि हामीले कुरा बुझिसक्यौं ।’

मतगणना अघि नै सीसीटीभी राख्न आग्रह गर्दा अस्वीकार गरेको भन्दै उनले धाँदलीको आशंका गरिन् । उनले निर्वाचन अधिकृत परिर्वतनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निवेदन समेत दिएकी छन् । घटनाबारे पार्टी नेतृत्वलाई जानकारी गराएको भन्दै वाम गठबन्धनकी उम्मेदवार चौधरीले भनिन्, ‘अब हामी यो मतगणना अहिले हुन दिँदैनौं । पार्टीको नयाँ निर्देशन के आउँछ, त्यस आधारमा हुन्छ ।’

मतगणना स्थल बाहिर वाम गठबन्धनका कार्यकर्ताले निर्वाचन अधिकृतलाई कारबाहीग गर्न र छानविन आयोग गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् । ठूलो संख्यामा प्रहरी परीचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस