मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : २ सय ३६ जनाको उद्धार​​

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०८१, १६ : ३५
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : २ सय ३६ जनाको उद्धार​​

काठमाडौं। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानव सेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

उद्धार गरिएकाहरूमा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कुल ४४ जना, मधेश प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कुल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कुल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कुल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कुल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कुल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कुल आठ जना रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्‌घाटन गरेका थिए भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा समापन हुने जनाइएको छ ।

उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट शुरू गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धारमा सहभागी भएका थिए ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका संस्थापक/केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले ब्यहोरेका थियो ।

यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ ।

यस आश्रमले स्वयं आफ्नो लागि आफैं केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानवहरू) हालसम्म  १० हजार सात सय ६४ जनाको उद्धार गरिसकेको छ ।

तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ । त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस