काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा पुगेको छ । पार्टीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर सुरु भएको छ । बैठक बोलाएर पछिल्लो अवस्थामा छलफल नभए अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर प्रयोग गरिने रणनीतिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई समूह सक्रिय भएर लागेको छ ।
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजन नजिक पुगेको हो । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको छ ।
जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई निकटका नेताले पार्टीमा निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नै नबोलाएको भन्दै भट्टराई पक्षका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।
यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षका नेताको छ ।
जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बैठक बोलाएर स्थानीय तहको निर्वाचन’ सम्बन्धी छलफल तथा आगामी निर्वाचन’ बारे रणनीति तय गर्न माग गरिएको बताए । तर, हस्ताक्षर अभियान नै चलाएको भन्ने कुरा सत्य नभएको राईले बताए ।
‘स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । परिणाम समेत आइसकेको छ । हामीले बैठक बसेर छलफल गर्नुपर्ने माग गरिरहेका छौं’ राईले राजधानीसँग भने, ‘पार्टी नेतृत्वविरुद्ध हस्ताक्षर अभियान चलाएको भन्ने कुरा सत्य होइन ।’
तर, जसपा स्रोतका अनुसार अध्यक्ष यादव १ र २ असारमा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध भट्टराई र अशोक राई समूहले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिरहेका छन् । जसपा विधानअनुसार पार्टीमा अर्को अध्यक्ष राख्नुपर्ने हुन्छ । तर, यादवले अर्को अध्यक्ष राख्ने विषयमा अनिच्छा व्यक्त गर्दै बैठक पर सार्ने गरेका छन् ।
स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो । त्यति बेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ जेठ २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व