महेन्द्रनगर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारसँग समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, प्रदेश २ कार्यसमितिसँग आज जनकपुरमा भएको भेटघाट कार्यक्रममा उहाँले पत्रकारको समस्याबारे आफूलाई जानकारी रहेकाले पत्रकारको हकहित र सुरक्षाको सवालमा गम्भीर रहेको बताउनुभयो । उहाँले पत्रकारको दक्षता अभिवृद्धि, सीप, तालीम, पत्रकारको हकहित र सुरक्षाको सवालप्रति आउने बजेटमा विशेष व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रदेश सरकार समस्या र अभावका बीच पनि जनताका लागि काम गर्न अग्रसरता लिइरहेको बताउँदै मुख्यमन्त्री राउतले कसैको प्रभावमा नपरी सकारात्मक समाचार प्रकाशन तथा प्रसारण गरिदिन आग्रह गर्नुभयो ।
महासंघका प्रादेशिक उपाध्यक्ष केसी लामिछानेले प्रदेश सरकारलाई सघाउन र साझेदारी गरी अघि बढ्न लालायित रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहयोगको अपेक्षा गर्नुभयो ।
गणतन्त्र दिवस भव्यताका साथ मनाइने
यसैबीच, २ नं प्रदेश सरकारले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसलाई भव्यता प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित समितिमा मन्त्री, राज्यमन्त्री, प्रदेश प्रमुख, सचिव, नेपाली सेनाका उपरथी र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक रहेका छन् ।
मूल समारोह समितिले गणतन्त्र दिवसका अवसरमा जेठ १४ गते बिहान जानकी मन्दिरमा सरसफाइ गर्ने र त्यसको संयोजन सामाजिक विकास मन्त्रालयले गर्नेछ । त्यसैगरी, जेठ १५ गते बिहान प्रभातफेरी गर्ने निर्णयसमेत गरिएको छ ।
बिहान जानकी मन्दिरबाट शुरु हुने प्रभातफेरी रामानन्द चौक, पिडारी चौकहुँदै जनकपुर चुरोट कारखाना परिसरस्थित कभर्ड हलमा सभामा परिणत हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस