निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत : ओली

सोमबार, २५ मंसिर २०७४, १३ : ४९
निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत :  ओली

नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।
    
झापा जिल्ला निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ५ द्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
    
अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा निर्वाचनमा सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद दिँदै लोकतान्त्रिक अभ्यासमा आम नागरिकले खेलेको सकारात्मक भूमिकाप्रति खुशी व्यक्त गर्नुभयो ।

निर्वाचनलाई बिथोल्न खोज्ने समूहले छिटफूट घटना गराएपनि उनीहरु जनताबाट बहिष्कृत भएका छन् भन्नुहुँदै अध्यक्ष ओलीले अहिलेको जनमत जनताले चाहेबमोजिमको परिवर्तनको अभिव्यक्ति हो भन्नुभयो ।
    
कार्यक्रममा निर्वाचन क्षेत्र नं ५ का निर्वाचन अधिकृत शकुन्तला कार्कीले नवनिर्वाचित प्रातिनिधिसभाका सदस्य केपी शर्मा ओली तथा प्रदेश सभाका सदस्यद्वय अर्जुन राई र हिक्मतकुमार कार्कीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस