काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट वितरणमुखी र आगामी निर्वाचनमा कार्यकर्ता रिझाउने गरी ल्याइएको टिप्पणी गरे ।
‘बजेट वितरणमुखी छ । ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको छ,’ उनले भने । बजेटमा चुरे संरक्षण गर्न कुनै कार्यक्रम नरहेको बताउँदै उनले तराईमा आरसनिकरहित स्वच्छ पानी खुवाउने विषयमा नसमेटिएको बताए ।
तराई क्षेत्रमा सिँचाइ गर्न ठोस कार्यक्रम पनि बजेटमा नरहेको उनको भनाइ छ । शिक्षा र स्वास्थ्यका लागि स्थानीय तहका छुट्याइएको बजेटले भौतिक पूर्वाधारका लागि पर्याप्त नहुने दाबी गर्दै झाले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाने वातावरण बनाउन सक्ने कार्यक्रम पनि नरहेको जिकीर गरे ।
‘जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाँदैनन्,’ उनले भने, करोडौँ खर्र्चेर पढेका चिकित्सक जिल्ला अस्पताल जाने वातावरण बनाउन सकेको छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, १३ : ०६
लेखकबाट थप