काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् ।
पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको पनि स्पष्ट पारे । स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दाबी गर्दै अध्यक्ष लिङदेनले अव प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।
उनले भने, ‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरुलाई निर्वाचन सकियो भनेर थकाई मार्ने सुविधा र छुट छैन । भोलि नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरुलाई आह्वान गर्न चाहन्छु ।’
उनले थपे, ‘स्थानीय तहको निर्वाचनमा गणितको हिसावले राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य संख्यामा जित्न नसकेपनि नेपालको राजनीतिमा हाम्रो पार्टी नयाँ शक्तिको रुपमा उदय र विकास भइराखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ शक्तिको रुपमा अगाडि आइराखेको छ भन्ने सन्देश दिन सफल भएको छ ।’
त्यस्तै अध्यक्ष लिङदेनले सत्तारुढ र प्रतिपक्ष दल आवद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरु बधाइको पात्र भएको भन्दै उनीहरुको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १५ : १९
लेखकबाट थप