रामचन्द्र, बामदेव र नारायणकाजीको हार पछि प्रचण्डको प्रतिक्रिया

सोमबार, २५ मंसिर २०७४, १० : १२
रामचन्द्र, बामदेव र नारायणकाजीको हार पछि प्रचण्डको प्रतिक्रिया

चितवन, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बामगठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका एमाले उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको हारले आफुलाई पीडा भएको बताएका छन् । आज चितवनमा एक टीवी च्यानललाई दिएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन् ।

बामगठबन्धन निर्माणमा उहाँहरु दुवै जनाले महत्वपूर्ण भूमिका खेल्नुभयो । अहिलेको चुनावमा उहाँहरुले जित्न सक्नु भएन । पराजय भयो । मलाई निकै पीडा भएको छ । उहाँहरु दुवैले जित्नैपर्ने थियो । हामीले माथिबाट सहयोग गर्दागर्दै पनि पराजित हुनुभयो । हामी यसको समीक्षा गर्छौँ ।

पार्टीले हिसाव गरेर नै उहाँहरु चुनाव लडन जानु भएको हो । जिताउन जोडबल पनि गरेको पनि हो । हारको कारण खोज्न वाँकी छ । बसेर कुरा भएको छैन । म काठमाडौं गएपछि कुरा हुन्छ । बामदेवजीसँग फोनमा कुरा भएको थियो । उहाँले केही कमजोरी देखा परेका छन् भन्नु भएको छ ।

बाबुरामले चुनाव जित्नु भएको छ । उहाँलाई बधाई छ । दुई पटक उहाँलाई पार्टीले उम्मेदवार बनाएर जिताएको हो । उहाँ अन्तिम समयमा बामगठबन्धनबाट बाहिरिनुभयो । बाहिरिनुमा उहाँकै भूमिका बढी छ ।

रामचन्द्र पौडेलजी संसदमा आउनुपर्ने व्यक्ति हो । उहाँको पराजय मिठो लागेको छैन । उहाँ संसदमा हुनुपर्ने नेता हो । प्रमुख नेता नहुँदा संसदमा केही न केही नमिलने जस्तो हुन्छ । तर, पनि नेताको रुपमा उहाँहरुको भूमिका कायम रहन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस