विदेश भ्रमणमा मन्त्री र कर्मचारीको लस्कर

पत्रपत्रिकाबाट

शुक्रबार, १३ जेठ २०७९, ०७ : ५६
विदेश भ्रमणमा मन्त्री र कर्मचारीको लस्कर

काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिती निरन्तर घट्दै गएको छ। विदेशी मुद्राको खर्च जोगाउन सरकारले अत्यावश्यक बाहेकका वस्तुमा आयतमा कडाइ गरेको छ। इन्धनमा सरकारी खर्च जोगाउन सरकारले हप्तामा २ दिन बिदा दिँदै आएको छ। मन्त्री तथा उच्च कर्मचारीहरूको विदेश भ्रमण भने निरन्तर जारी छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले गरेका आठमध्ये ७ वटा विदेश भ्रमणसँग सम्बन्धित रहेका छन्। 

मन्त्रिपरिषद्ले अमेरिकामा सञ्चालन हुने साइबर सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन नायब महान्यायधिवक्ता टेकबहादुर घिमिरको विदेश भ्रमणलाई स्वीकृत गरेको छ। यसैगरी, उक्त बैठकले यही जेठ १८ देखि २० गतेसम्म अमेरिकामा हुने अर्को एक कार्यक्रममा सहभागी हुन मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी गराउने निर्णय गरेको छ।  

यसैगरी सोही बैठकले जेठ १८ देखि २५ गतेसम्म भारतमा हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादवको नेतृत्वको टोलीलाई पठाउने निर्णय गरेको छ। यसैगरी, जेठ १९ देखि असार २५ सम्म जर्मनी, बेल्जियम तथा फ्रान्समा आयोजना गरिने कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री नेतृत्व टोलीको विदेश भ्रमणलाई स्वीकृत दिने निर्णय गरेको छ।  

रुवाण्डाको किगालीमा जेठ १३ देखि असार २ गतेसम्म हुने कार्यक्रममा सहभागी हुन सञ्चारमन्त्री नेतृत्वको टोलीको विदेश भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। यही जेठ १८ मा नर्वे र १९ मा फिनल्याण्डमा परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको अर्को टोली फिनल्याण्ड पुग्ने भएको छ।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु विश्व व्यापार संगठनको सम्मेलनमा सहभागी हुन यही जेठको अन्तिम साता स्विट्जरल्यान्ड जाने कार्यक्रम तय भएको स्रोतले बतायो।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा एउटा जम्बो टोली अहिले जेनेभा भ्रमणमा छ। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को ७५औं साधारण सभामा भाग लिन उक्त टोली यही जेठ ६ गते जेनेभामा गएको थियो। जेठ १६ गते मात्र सो टोली काठमाडांै फर्कने छ। मन्त्रिपरिषद्ले भ्रमण टोलीमा ४ जनाको नाम मात्र अनमोदन गरेको थियो। तर त्यसपछि अरू ७ जना व्यक्ति भ्रमणमा थपिए। स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव रोशन पोखरेल, मन्त्रालयकी प्रवक्ता संगिता मिश्र, तथा सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहको नाम मन्त्रिपरिषद्ले अनमोदन गरेको थियो। नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस