आज (शुक्रबार) विश्व थाइराइड दिवस विश्वभर मनाइँदैछ । विशेषगरी थाइराइड रोगमा सचेतना जगाउनका लागि यो दिवस सन् २००८ बाट शुरु भएको हो । पछिल्लो समयमा थाइराइडका बिरामीहरु समेत बढेका छन् ।
पुष्पाञ्जली अस्पताल भरतपुरले दिवसको अवसरमा शुक्रबार बिहान अस्पतालमा स्वास्थ्य परीक्षण तथा विभिन्न विशेषज्ञहरुबाट यसबारे प्रशिक्षण समेत आयोजना गरेको छ । अस्पतालमा चिकित्सक डा. भोजराज अधिकारीले दिवसको सन्दर्भ पारेर थाइराइडको विषयमा सबै कुराको जानकारी दिने प्रयास गर्नु भएको छ ।
के हो थाइराइड ?
थाइराइड भनेको घाँटीको अगाडिको भागमा रहेको एउटा ग्रन्थी हो । रुद्रघण्टीको ठीक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ ।
थाइराइडको ग्रन्थी घाँटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो । यसले शरीरको धेरै कुराहरु नियन्त्रण गर्छ । जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो । यसले शरीरमा हुने अनावश्यक झोल पदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्ने गर्छ । विशेषगरी मुटुको धड्कन मिलाउने र नियन्त्रण गर्ने काम गर्छ । त्यो हर्मन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ । यही हो थाइराइड रोग ।
कस्ता प्रकारका हुन्छन् रोग ?
भरतपुरस्थित पुष्पाञ्जली अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीका अनुसार थाइराइडमा प्रत्यक्ष रुपमा केही समस्या हुन्छ । एउटा थाइराइड ग्रन्थीले निकाल्ने रस कम हुने रोग हाइपोथाइरोडिजम हो । एउटा हर्माेनको मात्रा बढी निस्कने, त्यसलाई हाइपरथाइरोडिजम भनिन्छ । तेस्रो, थाइराइड हर्मन सुनिने, जस्तै गलगाँड जस्तो गरेर सुनिने हुन्छ । चौथो क्यान्सर हुनसक्छ, थाइराइड ग्रन्थीमा ।
धेरैजसो थाइराइडको रोग लागेको छ भनेर समाजमा कुरा गरिने थाइराइडले निकाल्ने हर्माेन कम भएर हुने रोगलाई हो । त्यसलाई हाईपोथाइरारोडिजम भनिन्छ । घाँटीबाट निस्कने थाइराइड ग्रन्थीको हर्मन कम भयो भने के हुन्छ बढी भयो भने के हुन्छ भन्ने कुराचाहिं परीक्षणपछि चिकित्सकले लक्षण पहिचान गर्ने डा. अधिकारीको भनाई छ । ‘विशेषगरी थाइराइड हर्मन कम हुँदा, मैले भन्ने गरेको छु शंका गर्नु सबैभन्दा महत्वपूर्ण थाइराइडको लक्षण हो’ डा. अधिकारी भन्नुहुन्छ, ‘बिरामीले धेरै वटा लक्षण भन्ने डाक्टरले केही पनि नभेट्ने भयो भने पनि थाइराइड शंका गर्नुपर्छ ।’
मानसिक रोगको जस्तै लक्षण
आजभन्दा ५ वर्ष पहिला सबैलाई मानसिक रोग हो कि भनेर भनिन्थ्यो । मानसिक रोग नै भनेर परीक्षण गरिन्थ्यो । थाइराइड परीक्षण गरिन्थेन । धेरै बिरामीहरु छुट्थे । अहिले के भनिएको छ भने विश्वमा जति पनि बिरामी छन् । ती बिरामीमध्ये ५० प्रतिशतमा आफूलाई थाइराइड भएको भन्ने थाहा नै हुँदैन । एक सयमा ५० जनाले आफूले थाहा पाएर औषधि लिन्छन् भने ५० जनाले डाक्टरले चेक गर्दा थाहा पाएपछि मात्रै औषधि लिने गरेको डा. अधिकारीको भनाई छ । त्यसकारण थाइराइडको बारेमा होसियारी र सचेतना आवश्यक छ ।
समस्या के के हुन्छ ?
डा. अधिकारीका अनुसार थाइराइड हर्माेन कम हुँदा तौल अनावश्यक रुपमा बढ्ने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुन्निने, फुल्ने, कपाल खस्ने, मानसिक रोगीजस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने, चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्म हुने हुन्छ । सबैकुरा सुन्दा मानसिक रोगजस्तो लाग्ने भएर झुक्किने हुन्छ ।
हर्मन बढी हुँदा ठीक उल्टो हुन्छ । मानिस दुब्लाउने, पसिना बढी आउने, निन्द्रा नपर्ने, मानिस सामान्यतया जतिखेर पनि तातेको, ज्वरो आएजस्तो हुने, पखाला बढी लाग्ने, ज्यान गल्नेजस्ता लक्षण दुबैमा हुन सक्छ । कतिपय अवस्थामा लो र हाइमा ठीक उल्टो लक्षण हुन्छ । १०० मा ९० प्रतिशतमा मिल्छ १० प्रतिशतमा उल्टो लक्षण हुन पनि सक्छ । लो भएको बिरामीको संख्या विश्वमा धेरै छ ।
समस्या बढी महिलामा
थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा हुन्छ । १० जनामध्ये ९ जना महिलामा यो रोग लाग्छ । एक जनामात्रै पुरुष हुन्छ । यसको कारणचाहिं महिलाहरुमा हुने महिनावारीदेखि लिएर हर्माेनमा हुने अनेक खालको परिवर्तनका कारण हुने हो । किनभने हर्माेनको समन्वय मस्तिष्क, थाइराइड, पाठेघर, स्तन सबैमा हुन्छ । उनीहरुमा बढी पाइन्छ । लो थाइराइड र हाइ थाइराइडमध्ये लो अर्थात् हाइपोथाइराइड ९० प्रतिशत बढी छ । त्यसकारण महिलाहरु र हर्माेन कम हुने रोगीको संख्या संसारमा धेरै छ । यस्तो खालको रोग पत्ता लगाउनचाहिं सामान्यतया चिकित्सकले शंका गरिसकेपछि रगतमा टिथ्री, टिफोर र टिएसएच हर्मन परिक्षण हुन्छ । त्यो परिक्षण गर्दा थाइराइड हर्माेन बढी भएको र कम भएको डाक्टरले पत्ता लगाउँछन् ।
जीवनभर औषधि खानुपर्ने हुन सक्छ
थाइराइडको औषधि नियमित सेवन गरेर तीन महिनामा अवस्था के भयो भनेर परीक्षण गर्नुपर्छ । कतिपयको जीवनभर नै औषधि खानुपर्छ भने कतिपयको एक वर्ष नियमित औषधि खाएपछि निको हुन्छ । रगतको परीक्षणबाहेक कहिलेकाहीं भाइरलले अन्य संक्रमणले असर गर्ने भएकाले आफैं निष्क्रिय भएको हो कि अन्य चिजले आक्रमण गरेको हो भनेर एन्टीबडी चेक गर्न सकिन्छ । थाइराइडको भिडियो एक्सरे गर्न सकिन्छ । क्यान्सर हो कि सामान्य सुन्निएको हो भनेर छुट्याउन सिरिन्जबाट पानी तानेर क्यान्सर हो वा होइन भनेर छुट्याउन सकिन्छ ।
अझै बढी सिटी स्क्यान र आयोडिन स्क्यान टेष्ट पनि हुन्छ । तर त्यसको धेरै जरुरी हुन्न । थाइराइड लोलाई औषधिबाटै समाधान गर्ने हो । थाइराइड हाइ भयो भने कहिलेकाहीँ अपरशेन गर्नुपर्ने र कहिलेकाहीँ रेडियो आयोडिन थेरापी गर्नुपर्ने हुन्छ । थाइराइड खानपानसँग धेरै सम्बन्ध नराख्ने रोग हो ।
कारण के हुनसक्छ ?
डा. अधिकारीले भन्नुभयो, ‘थाइराइड हर्माेन कम हुनुमा जिम्मेवार मलाई लागेको, हाम्रो कन्टेष्टमा चाहिं पहिलाजस्तो अर्गानिक कुरा नपाइनु, विषादी बढी हुनु । त्यो ग्रन्थीमा गएर त्यस्ता तरकारी र फलफूलका विषादी गएर अंगमा बस्नु र निकाल्न सक्ने रस निकाल्न नसक्नु, गर्मी बढी हुनाले प्रकाशको किरणले असर गर्नुजस्तो मलाई लाग्छ ।’ अध्ययनले पनि यही भनेको छ ।
उहाँका अनुसार खानाको होशियारीको हिसाबले यस्तो बिरामीहरुले विशेषगरी गोईट्रोजन फुड भन्छ । जस्तै, उदाहरणमा बन्दाको अत्याधिक प्रयोग, काउलीको डाँठ पात, बेथेको साग, स्टोर गरेका फुडहरु, गाडेको अचार, अमिलो दही, पुरानो गुन्द्रुक, मस्यौरा, यस्तो खाना थाइराइड बढाउने चिज भएको हुनाले कम गर्नुपर्छ । पानी प्रशस्त पिउँदा राम्रो हुन्छ । फ्याट चिजहरु खानु हुँदैन । रातो मासु खानु हुँदैन । थाइराइडका बिरामी धेरै मोटो हुने हुनाले बिहान हिँड्ने गर्नुपर्छ । रोग भएपनि कन्ट्रोल हुने हुनाले उनीहरुले रक्तदान भने गर्न सक्छन् ।
थाइराइडका बिरामीहरुमा रगतमा क्याल्सियम, भिटामिन डी आदिको मात्रा कम हुने हुनाले त्यसको पनि सहभागिता हुनु जरुरी छ । थाइराइडसँग रगममा बोसोको मात्रा बढ्ने, कहिलेकाहीँ मुटुमा समेत असर गर्ने हुन्छ ।
महिलाहरुले विशेष ख्याल गर्नुपर्ने कुरा
विशेषगरी गर्भवती महिनाहरुमा गर्भ रहने कुरामा पनि असर गर्ने र गर्भ बसिहाले पनि बच्चामा बोधोपन आउने हुनाले गर्भ रहनुभन्दा पहिला नै थाइराइड छ कि छैन भनेर महिलाले परीक्षण गर्नु राम्रो हो । हर्माेन कन्ट्रोलमा छ भने पनि फेरि बच्चा जन्माउनमा कुनै समस्या हुन्न । बच्चा पेटमा छ भने पनि दवाई सयमा सय सुरक्षित छ । दवाई छाड्नु हुँदैन ।
दिवस शुरु कहिलेबाट ?
समस्या बढ्न थालेपछि र विश्वभरी बिरामीको समस्या बढेपछि विश्वभर हेर्र्दै आएको वल्र्ड थाइराइड एसोसिएसन (डब्लुटीए) ले २००८ सालदेखि संसारभर थाइराइड सम्बन्धी चेतना बढोस् भनेर २००८ मा विश्व थाइराइड दिवस मे २५ को दिनलाई मनाउन थालिएको हो । खासगरी यो साताभरी मनाउने दिवस हो ।
यो बर्ष २०१८ का लागि नारा तपाईं होइन कि तपाईंको थाइराइडको मतलब गर्नुहोस् भनेको छ । शरीरभरी हुने रोगहरुमा तपाईंको थाइराइड जिम्मेवार हुनसक्छ, एकपटक चेक गर्नुहोस् त भन्न खोजेको हो । यो तपाईं होइन, तपाईंको थाइराइडले गरेको हो भन्न खोजेको हो । मतलब कुनै रोग लागिहाल्यो भने कतै थाइराइड त हैन भनेर चेक गर्नुहोस् भन्न खोजेको हो ।
‘त्यस अन्तर्गत हामीले चितवनमा रहेका अघिल्लो समयसम्म परीक्षण गरेका जति पनि हामीले जानेका बुझेका थाइराइडका र रजिष्ट्रेसन गरेका बिरामीहरु छन्, उनीहरुलाई हामीले आह्वान गरेका छौं परीक्षणका लागि, श्री पुष्पाञ्जली अस्पतालमा’ डा. अधिकारी भन्नुहुन्छ ।
थाइराइड डरलाग्दो ज्यानलाई खतरा हुने रोगचाहिं होइन । मधुमेह, मिर्गौला, प्रेसरजस्तो डरलाग्दो रोग होइन । यसले जीवनको गुणस्तरीय जीवनलाई भने असर गर्ने भएकाले यसको परीक्षण गरेर दवाई खान जरुरी छ । चितवनमा यहाँ पुष्पाञ्जलीले २०६९ बाट रेकर्ड गर्न थालेको थियो । सुरुमा ७ जनाबाट शुरु भएकोमा अहिले ७ हजार बिरामी भेटिइसकेका छन् ।
थाइराइड रोगबारे प्रशिक्षण र परीक्षण
चितवनमा रहेका अघिल्लो समयसम्म परीक्षण गरेका जति पनि थाइराइडका र रजिष्ट्रेसन गरेका बिरामीहरु छन्, उनीहरुलाई भरतपुरको पुष्पाञ्जली अस्पतालले परीक्षणका लागि आह्वान गरेको छ ।
अस्पतालले अरु सबैलाई पनि थाइराइड छ कि छैन भनेर परीक्षण गर्न आग्रह गरेको छ, विश्व थाइराइड दिवसका अवसरमा । यस विषयमा सचेतना पनि हुनुपर्छ भनेर अस्पतालले कार्यक्रम गरेको हो ।
पुष्पाञ्जली अस्पतालमा आएर रोगको बारेमा जानकारी लिन अपिल पनि गरिएको श्री पुष्पाञ्जली अस्पतालका निर्देशक डा. भोजराज अधिकारीले बताउनु भयो । अस्पतालका अनुसार थाइराइडका तीन वटै परिक्षणहरु हुनेछ । यस अवसरमा चिकित्सकबाट थाइराइडबाट मुटुमा के हुन्छ ? मृगौलामा के, महिलामा के, भनेर विशेषज्ञबाट परीक्षण हुनेछ । तीन महिनापछि पनि विशेष छुटमा उपचार हुने गरी परिक्षण कार्यक्रम समेत दिन लागेको छ । शुक्रबार बिहान पुष्पाञ्जली अस्पतालमा थाइराइड परीक्षण कार्यक्रम हुनेछ । (कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस