पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिश गरी पठाउने निर्णय गरेको बताउनुभयो ।
त्यस्तै, बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन विधेयक प्रदेशसभामा पठाउने निर्णय गरेको बताउँदै उहाँले यसले दुग्ध क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतका अनुसार बैठकले आर्थिक कार्यविधि ऐन, २०७४ का विभिन्न चारवटा बुँदामा संशोधन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा सरकारले ल्याउने आगामी बजेट, आसन्न गणतन्त्र दिवसलगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस