विनोद त्रिपाठी
एमाले र माओवादीको एकीकरणले राजनीतिक वृत्तमा तरङ्ग ल्यायो । दुवै पार्टीले आफ्ना पृष्ठभूमिलाई पन्छाएर नवीनतम् धारणा बनाए । वर्तमानमा मात्र टेकेर एकीकरणले आकस्मिक अवतरण गऱ्यो। दुवै पार्टीले विगत सम्झेका भए एकीकरण सम्भव थिएन । किनकि दुवै पार्टीका विगतको सम्बन्ध चरम शत्रुताबाट गुज्रिए । अतीतका आधारमा आमनागरिकको बुझाइ थियो, एकीकरण त्यति सजिलो छैन । यो चामत्कारिक एकीकरण केन्द्रीय मञ्चमा बस्नेहरूसमेतले भेउ पाएनन् । दुवै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको अपर्झट निर्णय थियो । ओली–दाहालको निर्णय एकीकरणमा बदलियो । यो एकीकरणको सार्थकता देशका लागि हो भन्ने मूर्तरूप दिन अमूर्त नीति अब पाच्य हुँदैन । पदको बाँडफाँडमा लर्बरियो भने फेरि एकीकृत पार्टी अमूर्तमा धकेलिनेछ ।
२०५० सालपछिका हरेक जेठ ३ गते त्यतिबेलाको माले निवर्तमान एमालेका लागि मदन भण्डारीको स्मृति दिवस बन्दै आयो । अब भने जेठ ३ गतेको दिन स्मृति र एकता दिनका रूपमा सम्झनेछ । यो एकताले मदन भण्डारीको स्मृतिको मात्र परिचय दिनेछैन, कम्युनिस्टहरूका लागि प्रेरक दिवस पनि हुनेछ । यसका लागि परिपक्व पार्टी सञ्चालनमा भर पर्छ । नत्र कम्युनिस्ट पार्टीको लिस्टमा अर्को नाम थप्नेबाहेक ठोस परिणाम दिनेछैन ।
२००४ सालमा नेपाल साम्यवादी सङ्घ र त्यसको दुई वर्षपछि नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिनबाट अहिलेसम्म कति कम्युनिस्ट पार्टी जन्मिए, फुटे, फेरि जुटे त्यसको बेग्लै इतिहास छ । नेपालमा कम्युनिस्टको जन्म राणाशासनको अन्त्य गलत्तै बन्यो, त्यो पनि भारतमा । कलकत्तामा २००६ सालमा गठन गरिएको कम्युनिस्ट स्थापनालाई वार्षिकोत्सवका रूपमा मनाउने चलनले नेपालमा निरन्तरता पाएको छ । हाम्रो आफ्नो मौलिक राजनीति आधुनिक इतिहासको शुरुवातदेखि नै भारतसँग जोडदार ढङ्गले जोडिएको छ । यसले नेपालको राजनीतिलाई आशातीत परिवर्तन त ल्याइदियो, तर मुलुक निर्माणमा अहिलेसम्म यो परिवर्तन प्रयोगमा आउन सकेन ।
नेपालको राजनीति आन्दोलनका पृष्ठभूमिमा पनि भारत सबैभन्दा अघि छ । राणाशासन ढाल्न राजा त्रिभुवन भारतको शरणमा गएको कालखण्ड होस् वा पञ्चायतविरुद्धको आन्दोलन । अझ भनौँ, ०५१ सालमा तत्कालीन माओवादीको सशस्त्र युद्धको सम्पूर्ण योजनाका खाकाहरू तयार गर्दा होस् वा २०६३ सालमा राजतन्त्र अन्त्य गर्ने सवाल नै किन नहोस्, हाम्रा परिवर्तनकालहरू भारतको अग्रपृष्ठबाट निर्देशित रह्यो । यति धेरै परिवर्तन भएर पनि हामीले किन देश बदल्न सकेनौँ, किन जनतामा अमनचयन छाएन र किन नेपालको परिवर्तन समृद्धिका लागि भएन ?
प्रगतिका लागि आफैं परिवर्तन हुनुपर्छ । अरूबाट निर्देशित परिवर्तन झन्झटिलो लाग्छ, बोझिलो हुन्छ अनि बीचमा अर्को मोड लिन्छ । आफैंबाट भएको परिवर्तन योजनाबद्ध हुन्छ । अर्कोको आदेशबाट प्राप्त उपलब्धि दीर्घकालीन हुँदैन । हामी यसका साक्षी हुँदै आएका छौँ । ‘जेठ ३ गते साँझ पूर्वमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, यो एकीकरण कतिन्जेल हो ५ वर्षभित्रै थाहा हुन्छ ।’ उनले आफ्नो जलन पोखेका हुन सक्छन्, तर यो उनको सत्य अनुभव पनि हो । उनले मात्र होइन, धेरैले एकीकरणको दीर्घायुको विषयमा चिन्ता पोखेका छन् ।
नवगठित नेकपाको अग्निपरीक्षा जनताले हरेक दिन लिइरहनेछन् । यो अग्निपरीक्षामा उत्तीर्ण हुने वा नहुने कामका आधारमा नेपाल कम्युनिस्ट पार्टीले नै देखाउनुपर्नेछ । होइन भने यो एकीकरण प्राकृतिक नभई अदृश्य शक्तिबाट कृत्रिम रूपमा भएको जनताले बुझ्नेछन् । यदि यस्तो भयो भने अतीतका परिवर्तनभन्दा यो कम्युनिस्ट एकीकरण नेपाल र नेपालीका लागि गम्भीर घातक सिद्ध हुनेछ ।
नवगठित नेपाल कम्युनिस्ट पार्टीले एकीकरणलाई बलियो बनाउन राजनीतिलाई दोस्रो प्राथमिकतामा राख्न सक्नुपर्छ । पहिलो प्राथमिकता देश निर्माणमा लगाउनुपर्छ । होइन भने विगतकै कम्युनिस्टको हालतमा नवगठित नेकपा पुग्नेछ । किनकि यसका प्रमाणित कारणहरू छन् । नेपालमा काङ्ग्रेसको राजनीति इतिहास कम्युनिस्टको भन्दा पुरानो छ । तर, चुनावको राजनीतिमा काङ्ग्रेस–कम्युनिस्टको उमेर उस्तैउस्तै हो । यसका बेग्लै तथ्यहरू छन् । पञ्चायतकालमा शक्ति आर्जन नगर्दै कम्युनिस्टहरू व्यापक फुटे । त्यतिबेला सिद्धान्त र पदका विषयलाई लिएर नेतापिच्छे भूमिगत पार्टी खुल्थे । २०३० सालको एक वर्षमा ५ वटा कम्युनिस्ट पार्टी जन्मिएका थिए । हरेक वर्ष कम्युनिस्ट पार्टी खुल्ने र निष्क्रिय हुने क्रम चल्यो । ०४८ सालपछि मात्र कम्युनिस्टहरू शक्तिमा आउन थाले । तत्कालीन नेकपा माले सत्ताको दाबेदार बन्दै शक्तिशाली प्रतिपक्षमा छायो । बहुदल आएपछि पनि कम्युनिस्ट पार्टीहरू निरन्तर खुल्ने क्रम रोकिएन । त्यसपछि दर्जनभन्दा बढी पटक सत्तामा रहेर पनि कम्युनिस्टको चरित्र परिवर्तन भएन । आवरणमा कम्युनिस्टको आयतन बढ्दै गयो । तर, देश निर्माणमा झनै खुम्चियो । उही राजनीतिका लागि राजनीति मात्र कम्युनिस्टको चरित्र बन्यो । देश बनाउनका लागि राजनीति कहिल्यै बनेन ।
हाम्रो चाहनाले स्वतस्फुर्त परिवर्तन भएको भए मुलुक निर्माणमा त्यो परिवर्तन रूपान्तरित हुने थियो । हाम्रो राजनीति परिवर्तन बाह्य शक्ति वा अराष्ट्रिय तत्वबाट सञ्चालित थियो । किनकि अतितका परिवर्तनहरूको परिणामले सिद्ध गरिसकेको छ । कुनै पनि परिवर्तन मुलुक हितका खातिर हुन्छ । तर, हाम्रा विगतका परिवर्तन मुलुक निर्माणमा उपयोग हुन पाएन । फलस्वरूप हामीले कहिल्यै उन्नति प्रगति गर्न सकेनौँ । यसलाई नवगठित नेकपाले गम्भीर रूपमा बुझ्न सकेन भने मुलुकले गम्भीर दुस्परिणाम भोग्नुपर्ने निश्चित छ । नेकपाको लागि अब परीक्षाको घडी शुरु भएको छ । यो एकीकरण नेताहरूकै चाहनामा भएको हो भने मुलुकको प्रगतिका लागि उपयोग हुनेछ । यदि विगतकै जस्तो बाह्य शक्तिको दबाबमा एकीकरण भएको हो भने कम्युनिस्ट अराजक झन् बढेर जानेछ । अराजक रोक्न सबै नेता–कार्यकर्तामा निस्वार्थ त्याग हुनुपर्छ । एकीकरणले वरिष्ठका रोलक्रमका नेताहरूलाई झन् तल पुऱ्याउँछ । कति नेताहरू भूमिकाविहीन हुन सक्छन् ।
एकीकरण हुँदा पदको बाँडफाँड सबैलाई चित्त बुझ्दैन । दुईवटा पार्टी हुँदाको जिम्मेवारी फेरबदल भएर पार्टी एकीकरण हुँदा पदहरूको सन्तुलन खलबलिन सक्छ । यसमा खासगरी, वरिष्ठ र जिम्मेवार नेताहरूले खुसीले चित्त बुझाउन सक्नुपर्छ । यो एकीकरण दुवै पार्टीको योजनाबद्ध र चाहनाअनुसार भएको भए बाबुराम भट्टराईले भनेझैँ ५ वर्ष होइन, कम्तीमा पनि १५ वर्षभन्दा बढी एकीकृत भइरहन्छ । बाह्य कुनै शक्तिबाट प्रेरित होइन भने यो कम्युनिष्ट पार्टी परिवर्तनको मुख्य संवाहक प्रमाणित हुनेछ । होइन भने, उही बिलाउँदै गएका पुराना कम्युनिस्टभन्दा फरक हुनेछैन । एकीकरण मजबुत बनाउन पार्टीको सम्पूर्ण शक्ति राजनीति दिशाबाट विकास, अर्थ उत्पादनमा मोड्न सक्नुपर्छ । राजनीति मात्रको कार्यदिशाले पार्टी फुट्नेबाहेक कुनै परिणाम दिँदैन । इतिहासको यो शिक्षा वर्तमान कम्युनिस्टले सिक्नैपर्छ । कृषि, उद्योग, उत्पादन र अनुसन्धानका कामहरूमा युवा कार्यकर्ताहरू सहभागी गराउन सक्नु प्रमुख विकल्प हो । यसले कार्यकर्ताको आयस्तर बढ्नेछ । युवा बिदेसिने क्रम घट्नेछ । अर्कोतर्फ पार्टीका कार्यकर्ता रोजगारमुखी हुनेबित्तिकै पार्टीसँग भरोसा झन बढ्नेछ । रोजगार र उत्पादनमा लगाएर कार्यकर्तालाई आत्मनिर्भर बनाउनेबित्तिकै नवगठित कम्युनिस्ट पार्टीको विश्वास अझ सशक्त भएर जानेछ ।
नवगठित नेकपाको अग्निपरीक्षा जनताले हरेक दिन लिइरहनेछन् । यो अग्निपरीक्षामा उत्तीर्ण हुने वा नहुने कामका आधारमा नेपाल कम्युनिस्ट पार्टीले नै देखाउनुपर्नेछ । होइन भने यो एकीकरण प्राकृतिक नभई अदृश्य शक्तिबाट कृत्रिम रूपमा भएको जनताले बुझ्नेछन् । यदि यस्तो भयो भने अतीतका परिवर्तनभन्दा यो कम्युनिस्ट एकीकरण नेपाल र नेपालीका लागि गम्भीर घातक सिद्ध हुनेछ । (घटना र विचारबाट)
प्रतिक्रिया दिनुहोस