नुवाकोट, २४ मंसिर । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले ३६ हजार ४७३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा. रामशरण महतले २७ हजार ९२० मत प्राप्त गर्नुभयो । विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा. महतले तामाङलाई पराजय गर्नुभएको थियो ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गर्नुभयो ।
यस्तै प्रतिनिधिसभा सदस्य–१प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो ।
यस्तै प्रदेश (ख) मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी हुनुभएको छ । काँग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उहाँका निकटतम प्रतिष्पर्धी बन्नुभयो ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी काँग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गर्नुभएको छ ।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले जितेका थिए ।
प्रतिक्रिया दिनुहोस