अर्थमन्त्रीको राजीनामाबारे वैशाख १३ पछि निर्णय हुन्छ : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १४ : ५०
अर्थमन्त्रीको राजीनामाबारे वैशाख १३ पछि निर्णय हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन्। बिहीबार कैलालीको धनगढी पुगेर प्रचण्डले पत्रकारहरुसँग यस्तो बताए।

उनले विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो डिशिजन लिएको भन्ने कुरा पनि प्रष्ट छ। १३ गते अदालतले दुवैलाई बोलाएको छ। अदालतमा दुवैका कुरा आउँछन्।

त्यसपछि मात्र वास्तवमा के भएको हो भन्न सकिन्छ। अहिलै नै ठ्याक्कै केही भन्न सकिँदैन।’ ४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको छ। सर्वोच अदालतले गर्भनर अधिकारी र सरकारी पक्षलाई १३ गते अदालतमा बोलाएको छ।

गभर्नर अधिकारीलाई जिम्मेवारी पूरा गर्न दिनू भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि राजीनामाको दवाव बढेको छ। अर्थमन्त्रीको राजीनामाको दवाव बढेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमै त्यस्तो निर्णय भएको बताए।

यस्तै उनले फरक सन्र्भमा वैशाख ३० गते नै निर्वाचन हुने बताएका छन्। ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए। हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ। अब त केही कन्फ्युज छैन होला।’ उनले भने।सुदूरपश्चिम लगायत देशैभर सबै क्षेत्रमा तालमेल गर्ने र सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनसक्ने उनको भनाइ छ।

भागबन्डाका कारण निर्वाचन परिणाममा फरक नपर्ने

यस्तै प्रचण्डले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन्। उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि मिल्दै जाने र यसले निर्वाचन परिणाममा फरक नपार्ने बताए।

गठबन्धनभित्रको असन्तुष्टि लोकतन्त्रको सुन्दरता भएको बताउँदै उनले यो धेरै ठूलो कुरा नभएको जनाउका छन्। केन्द्रीय गठबन्धनले राष्ट्रिय एकता, संविधानाको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि बुद्धिमतापूर्वक निर्णय गरेको उनको भनाइ छ।

कैलालीको गौरीगंगामा आयोजना हुने कार्यक्रम सम्बोधनका लागि प्रचण्ड कैलाली पुगेका छन्। जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा फिर्ता भएपछि पहिलोपटक गौरीगंगामा माओवादी केन्द्रले कार्यक्रम गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस