अर्थतन्त्रमा संकट आउन नदिन नेपाल राष्ट्र बैंकले गर्यो कडाई

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १८ : ०७
अर्थतन्त्रमा संकट आउन नदिन नेपाल राष्ट्र बैंकले गर्यो कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन।

प्रवक्ता भट्टले बढ्दो सोधानान्तर घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति प्रभावित हुँदै गएकाले बिलासिताका वस्तु आयातमा रोक लगाउन बाध्य भएको बताए । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनका लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही बस्तुको आयातमा रोक लगाउन परेको प्रवक्ता भट्टले स्पष्ट पारे ।

उनले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताए । राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउनका लागि एउटा उपकरण प्रयोग गरिएको बताए ।

उनले बाहिर हल्ला आए जस्तो अर्थतन्त्रमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । राष्ट्र बैंकसँग ६–७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए । उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको पनि बताए । कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको र आयात वृद्धिसंगै विदेशी मुद्रा सञ्चिति र शोधनान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाई छ ।

त्यस्तै, प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे। श्रीलंका कुल गार्हस्थ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्थामा पुगेकोे प्रवक्ता भट्टको भनाइ छ । उनले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको बताए ।

अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनका लागि सरकारले दीर्घकालको लागि सोच्नु पर्ने अवस्था आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टको तर्क छ ।

प्रतिक्रिया दिनुहोस