जनकपुर–जयनगर रेल्वेको आज उदघाटन, दिल्लीबाट देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्दै

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ०७ : ५९
जनकपुर–जयनगर रेल्वेको आज उदघाटन, दिल्लीबाट देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्दै

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाल रेल्वेको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्। तीनदिने भारत भ्रमणमा रहेकै समयमा भारतीय प्रधानमन्त्रीको आवास हैदरावाद हाउसमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्। 

शनिबार १२ बजेदेखि १२स्३० बजेका बीचमा रेल्वेको उद्घाटन गर्ने समय तालिका रहेको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। दुवै देशका प्रधानमन्त्रीले उद्घाटन कार्यक्रम आम जनतालाई देखाउनका लागि भारतको जयनगर र जनकपुरधाममा लाइभको व्यवस्थासमेत गरिएको झाले बताए। रेल्वेले जनकपुरधामस्थित स्टेसनमा गेट, पण्डाल निर्माण गरेको छ।  

जयनगरमा अतिविशिष्ट व्यक्तिहरू मात्रै रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम सिधा देखाइने महाप्रबन्धक झाले बताए। दिल्ली उद्घाटनपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान हुनेछ। प्रत्येक स्टेसनमा स्कुलका बालबालिकाले नेपाल भारतको झन्डा लिएर रेल्वेको स्वागत गर्ने कार्यक्रम छ। झाले भने ‘प्रत्येक स्टेसनमा १५ जना विद्यार्थी नेपाल भारतको झन्डा बोकेर रेलमा सवार हुनेछन्, उनीहरूलाई समेत त्यही रेलमा चढाएर कुर्थासम्म ल्याउने कार्यक्रम छ।’ 

रेल कुर्था पुगेपछि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवलाई चढाएर जनकपुरधामस्थित स्टेसनसम्म ल्याइने छ, जहाँ उद्घाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका रहेको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरसम्म चल्ने रेल दिनको दुई पटक गुडाइनेछ। यद्यपि शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा उद्घाटन गरेपछि एक पटक मात्रै गुड्ने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस