सुरज बैद्य पनि काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १४ : ०४
सुरज बैद्य पनि काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका व्यवसायी सुरज वैद्य पनि काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा लागेका छन् ।वैद्यले भने, ‘मैले इण्डेपेन्डेन्ट लड्न खोजेको हो । कुराहरु भइरहेको छ । छलफल भइरहेको छ । केही विकास गरौं, केही गरौं भन्ने चाहना हो । त्यो सबैलाई हुन्छ नि होइन् र ? त्यो भएकोले इच्छा छ । तर नेपालमा हरेक कुरामा पार्टीको झण्डा चाहिने रैछ जनतालाई । 

वैद्यले काठमाडौं ऐतिहासिक शहर भएकाले यहाँ ठूला पूर्वाधार विकासको सपना देखाउने भन्दा पनि भएका सम्पदाको संरक्षण गर्दै जनताका आधारभूत अधिकारको प्रत्याभूति, हरेक महिलाले ढुक्कसँग हिंड्नसक्ने वातावरणको सुनिश्चितता गर्न सके पुग्ने बताए । 

तर नेपालमा हरेक कुरामा पार्टीको झण्डा चाहिने रैछ जनतालाई ।’उनले काठमाडौंलाई सास फेर्ने मौका दिनु जरुरी रहेको बताए । काठमाडौं निकै फोहोर र दुर्गन्धित भएकोमा चिन्ता प्रकट गर्दै वैद्यले यसबाट यहाँका जनताले मुक्ति चाहेको बताए । उनले काठमाडौं सानो र ऐतिहासिक शहर भएको बताउँदै यसको सुन्दरतालाई कायम राख्नेगरी विकासको जरुरी रहेको बताए । 

वैद्यले यहाँको हरियाली नष्ट गर्दै अव्यवस्थितरुपमा क्रंक्रिट संरचनाहरु थप्ने मात्रै काम भएको बताउँदै काठमाडौंवासीको जीवन र संस्कृतिसँग जोडिएका यहाँका नदीहरुको फोहोर बनेकोमा पनि चिन्ता पोखे ।

अरुले जस्ता ठूला नारा दिने र ठूला सपना देखाउने काम आफूले नगर्ने बताउँदै उनले भने, ‘काठमाडौंमा वस्नेहरुलाई हेल्थ, सेक्युरिटी र इन्भाइरोमेन्ट, यी तीन वटा कुरा फोकस गर्नुपर्छ । काठमाडौंलाई हामीले पाँच बर्षमा सिंगापुर त बनाउनै सक्दैनौं । तर त्यसको सुरुवात त गर्न सकिन्छ नि त ।’ 

व्यवसायी वैद्यले काठमाडौं एउटा पर्यटकीय स्थल भएकाले यसलाई पर्यटकीय स्थलकै रुपमा विकास गर्न सकिन्छ भन्दै यहाँको परम्परागत संस्कृति र सम्पदा जोगाउन सक्दा पनि पर्यटनको विकास हुने बताए ।

काठमाडौंको परम्परागत पहिचान जोगाउनु जरुरी रहेको उनको भनाई छ । काठमाडौंलाई अहिले मोनो रेल र मेट्रो रेल जरुरी नरहेको वैद्यले बताए ।

उनले हाल रहेकै ट्राफिक सिस्टमलाई व्यवस्थापन गर्दा पनि पर्याप्त हुने बताए । मेट्रो रेल र मोनो रेलको कुरा गर्न थालेपछि लगानी जुटाउँदैमा पाँच बर्ष सक्किन्छ भन्दै वैद्यले यस्ता कुरामा जनतालाई सपना देखाउने र भ्रममा पार्ने भन्दा पनि जे यथार्थ हो र जे आवश्यकता हो, त्यति मात्रै कुरा गर्न सकियो भने काठमाडौंलाई पुग्ने बताए । 

उनले भने, ‘कम्तिमा भएका सडकहरु राम्रो होस्,  त्यहाँ धुलो, फोहोर नहोस, सडक बत्तिहरु राम्रो होस्, नियमित मर्मतसंहार होस् । सार्वजनिक शौचालयहरु राम्रो छैन् काठमाडौंमा । ठूलो कुरा छोडिदिउँ । सानोबाट सुरु गरौं । सक्ने र न्यूनतम आवश्यक कुराहरुबाट जाउँ ।

मेरो उद्देश्य भनेको नगरवासीले तिरेको कर कम्तिमा उनीहरुको हित र विकासका लागि लगाउँ भन्ने हो । पैसा बैंकमा हालेर ब्याज बढाउने भन्ने जस्तो कुरा गर्न हुन्न । त्यो गर्न सक्कियो भने पाँच बर्षमा एक तहमा पुर्याउन सकिन्छ जस्तो लाग्छ । 

प्रतिक्रिया दिनुहोस